दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक 'डाइरेक्टिङ फिचर फिल्म्स' को नेपाली अनुवाद प्रकाशन भएको छ।
‘महानगर’ फिल्म निर्देशक मोहन राई अनुदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रुपमा विमोचन गरेका हुन्।
पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखिन्।
‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ। यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी फिल्म बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन्।
कार्यक्रममा निर्देशक नविन सुब्बाले निर्देशनसम्बन्धी आफूले पढेका किताबमध्ये आफूलाई मन परेको किताब मोहन राईले अनुवाद गरेकोमा आफूलाई ईर्ष्या लागेको बताए।
‘हामी आर्ट सेक्टरमा काम गर्ने मान्छे पढ्ने कुरामा रुची राख्दैनौँ। जन्मजात प्रतिभा लिएर आएका छौं। मैले किन अरुको कुरा पढ्ने, सिक्ने भन्ने सोच छ। तर विश्वमा धेरै राम्रा-राम्रा काम भइरहेका छन्। यो पुस्तक त्यस्ता धेरै राम्रा कामहरूको संश्लेषण हो,’ उनले भने।
अनुवादक मोहन राईले आफूले सात/आठ वर्ष अगाडिदेखि यो पुस्तकमा काम गरिरहेको बताए पनि विविध कारणले ढिलो भएको बताए।
‘म त नि:शुल्क पनि यस्ता काम गर्न तयार छु तर एकजनाले मात्र गरेर यो सम्भव हुन्छ जस्तो लाग्दैन। मैले मेरो अघिल्लो पुस्तक पनि प्रकाशनका लागि चलचित्र विकास बोर्ड धाएँ तर ठोस उपलब्धि नभएपछि आफैँ प्रकाशन गर्न कस्सिएको हुँ,’ उनले भने।
कार्यक्रममा लेखक मार्क ट्राभिसले पनि मोहन राईलाई अनुवादका लागि भिडिओ सन्देशमार्फत् शुभकामना दिएका थिए।
मोहन राईले दिग्गज फिल्मकर्मीसँगको अन्तर्वार्तामा आधारित ‘जक्स्टापोजिसन’ प्रकाशन गरेका छन्।