मंसिर अन्तिम साता बुटवलमा प्रदर्शनी आइडलको लागि अडिसन दिन पुगेकी रूपा रौतारले भनेकी थिईन्, ‘मैले सहानुभूतीको भोटले होईन कला र गलाको मूल्यांकनबाट पाउने भोटले जित्नेछु।’
नभन्दै त्यस्तै भयो। कपिलवस्तुको वाणगंगा नगरपालिका धनकौलीकी रूपाले बुटवलमा सम्पन्न ‘प्रदर्शनी आइडल २०७९’ को उपाधि जितिन्।
रूपन्देही उद्योग संघले गत पुस ७ गतेदेखि आयोजना गरेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवमा गायन विधाको प्रदर्शनी आइडल आयोजना भएको थियो।
सोही प्रदर्शनी आइडलका ३३ जना सहभागिबाट छानिदै एउटा दुर्घटनामा परि ४ वर्षको उमेरमै दुबै हात गुमाएकी रूपाले उपाधि जितेकी हुन्।
अडिसन राउण्डमा ३३ जना सहभागिबाट छानिदै प्रदर्शनी आइडल बनेकी रूपाले १ लाख ११ हजार १११ रूपैयाँ नगद पुरस्कारसहित अन्य पुरस्कारहरू जितिन्।
प्रतिस्पर्धामा अञ्जली विश्वकर्मा दोस्रो भइन्। उनले नगद ५५ हजार ५ सय ५५ रूपैयाँ र तेस्रो भएकी एन्जिला क्षेत्री खत्रीले नगद ३३ हजार ३ सय ३३ रूपैयाँ पुरस्कार हात पारिन्।
१७ वर्ष पहिले एउटा दुर्घटनामा परि दुबै हात गुमाउँदा रूपा ४ वर्षकी रूपा कपिलवस्तुको बालज्योति स्कुलमा पढ्दै थिईन्।
२०६२ सालको भदौ महिनाको आमा ईन्द्रासँगै आफन्तको घर गएकी उनी खेल्दाखेल्दै घरको कौशीमा विद्युतीय दुर्घटनामा परेकी थिइन्।
ईन्द्रालाई त्यो दिनको सम्झना गर्दा पनि कहाली लागेर आउँछ। ‘हामी तल्लो तलामै कुरा गरेर बसिरहेका थियौं, घरमाथि केही पड्किएको जस्तो ड्याम्म आवाज सुनियो बाहिर आएर हेर्दा छोरीलाई करेन्ट लागेर दाउराको चाङमा पछारिएकी रहिछिन्,’ त्यो दिनको घटना सम्झिदै ईन्द्रा भन्छिन्।
दुर्घटनामा परेपछि तत्काल लुम्बिनी अञ्चल अस्पताल, बुटवलमा सामान्य उपचारपछि उनलाई काठमाडौंको शिक्षण अस्पताल हुँदै कान्ति बाल अस्पतालमा पुर्याईयो। दुर्घटनामा परेको एक सातापछि भएको अप्रेसनमा उनले दुबै हात गुमाइन्।
घरसँगै सटाएर विद्युतका तार झुण्ड्याएर लैजानु नेपाल विद्युत प्राधिकरणको गम्भीर लापरवाही भएको भन्दै त्यसबेला ईन्द्रालाई प्राधिकरणमा राहतका लागि अपिल गर्न सबैले सुझाव दिएका थिए। प्राधिकरणको राहत भन्दा पनि पहिले छोरीको उपचारमा लाग्नुपर्दा उनले चाहेर पनि समयमै प्राधिकरणमा राहतका लागि निवेदन दिन सकिनन्। प्राधिकरणको नियमअनुसार दुर्घटना भएको ७ दिन भित्रमा राहतका लागि निवेदन दिइसक्नुपर्ने हुन्छ।
तर, धेरै ढिलो निवेदन दिएको कारण रूपाको लागि प्राधिकरणले ९७ हजार रूपैयाँ मात्रै राहत उपलब्ध गरायो। ११ महिना काठमाडौंमा बसेर उपचार गर्दा ४ लाख रूपैयाँ खर्च भईसकेको थियो।
रूपा दुर्घटनामा पर्दा उनका बुवा विष्णु रौतार वैदेशिक रोजगारीमा थिए। आमा ईन्द्रा एक्लै छोरीको उपचार, स्याहार सुसार र विद्यालय लैजाने काममा लागिरहिन्।
दुर्घटनापछि कपिलवस्तुको होराइजन बोर्डिङ स्कुलले निःशुल्क पढाईदिने भयो।
आफ्नो भविश्यको बारेमा सोच्ने नभईसकेकी रूपाका लागि भर्खरै अक्षर चिन्न र लेख्न शुरू गर्दा दुबै हात गुमाउनुपर्दाका दिन निकै कष्टकर थिए।
भनिन्छ ‘जहाँ अध्यारो हुन्छ त्यहीँ भित्र पनि उज्यालोका किरणहरु लुकेका हुन्छन्’। असम्भव भनिएका काम पनि हिम्मत, साहस र आँटका साथ गरियो भने सम्भव हुन्छ।
रूपाले पनि जीवनलाई सुन्दर बनाएर जिउनको लागि हिम्मत र साहस जुटाईन्। हातको औंलामा शिशाकलम च्यापेर कखरा सिक्न नभ्याउँदै दुबै हात गुमेपछि खुट्टाका कापमा शिशाकलम राखेर कखरा लेख्न थालिन्।
पढाईमा तेज रूपाको रूचि गीत संगीतमा पनि देखिन थाल्यो। कक्षामा शिक्षक नभएको बेला उनी गीत गुनगुनाउँथिन्।
साथीहरूलाई जम्मा गरेर पनि गीत गाउँथिन्। रूपामा देखिएको गायन क्षमता नियालिरहेकी विद्यालयकी शिक्षक विष्णुमाया श्रेष्ठले उनलाई बुटवलको वागेश्वरी संगीतालयमा ल्याएर निःशुल्क संगीत सिक्ने व्यवस्था मिलाईदिईन्। अध्ययन र बसाई कपिलवस्तुमा भएर बुटवलमा संगीत सिक्न आउनु उनका लागि सहज थिएन।
आमा ईन्द्राले रूपालाई लिएर बुटवल बस्न थालिन्। पछिल्लो १२ वर्षदेखि रूपा अध्ययन र गीत संगीतलाई सँगसँगै अगाडि बढाईरहेकी छन्। बुटवलकै दिप बोर्डिङ स्कुलले कक्षा १ देखि १० सम्म निःशुल्क पढाईदियो। अहिले उनि बुटवलकै कालिका मानवज्ञान माविमा कक्षा १२ मा मानविकी संकायमा अध्ययन गरिरहेकी छन्।
जीवनकै सबैभन्दा भयानक दुर्घटना भएको राम्रोसँग सम्झना समेत नभएकी रूपा अहिले जीवनमा आईलाग्ने जस्तोसुकै असम्भव कुरा पनि सम्भव बनाएर जिउन सकिन्छ भन्ने प्रेरणा बनिरहेकी छन्।
छोरीका दुबै हात गुमेपछि हाँस्न बिर्सिएकी ईन्द्राले सोमबार राति छोरी प्रदर्शनी आईडल घोषित भएपछि मञ्चमै हर्षका आँशु खसालिरहिन्।
‘छोरीको उपचारमै लागिरहँदा त्यतिबेला आँशु खसाल्ने फुर्सद पनि पाएकी थिईनँ, म रोएर छोरी पनि सँगसँगै रून्थिन्। १७ वर्षदेखि छोरीको लागि परिवारले गरेको संघर्ष र उनको मेहनतको प्रतिफल मिलेको छ, अब पनि पढाई र गीतसंगीतलाई सँगसँगै अगाडि बढाउन छोरीलाई साथ दिईरहन्छु,’ उनले भनिन्।
प्रतियोगिता अवधिभर हँसिलो अनुहारमा स्टेज चढेर उद्घोषकले मिलाईदिने माईकमा प्रस्तुति दिएपछि रूपाका लागि सहानुभूति भन्दा पनि प्रशंसा र हौसलाका ताली बज्ने गर्थे। ‘हिँजो हौसलाका लागि ताली बजाईदिनुभयो भोट गरिदिनुभयो, अब पनि तपाईहरुको साथ र सहयोग निरन्तर रहिरहोस्,’ रूपा भन्छिन्।
रूपालाई निःशुल्क संगीत सिकाईरहेका बागेश्वरीका सञ्चालक संगीतकार सुरेश सेन्चुरी रूपामा गीत संगीतप्रति गहिरो लगाव रहेको बताउँछन्। ‘गीत संगीतमा रूपाको गहिरो लगाव छ, उनी एकपटक सिकाएको कुरा झट्ट बिर्सिदैनिन्, नसिक्दासम्म मेहनत गर्न पनि छोड्दिनन्,’ सेन्चुरीले भने।
रूपाले आफ्नै आवाजका दुई वटा सांगीतिक एल्बम समेत निकालिसकेकी छन्। ‘मेरो आफ्नै जीवनका भोगाईको कथा समेटिएको ‘हिम्मत भाकी छोरी’ र ‘लेख्दै छु म मेरो कहानी’ भन्ने दुई वटा एल्बम निकालिसकेकी छु, अब पढाईसँगै गीत संगीतलाई पनि अगाडि बढाउँछु,’ रूपाले भनिन्।
रूपा विगतका घटनामा अल्मलिँदा अगाडि बढ्न नसकिने भएकोले विगत भन्दा वर्तमान र भविस्यको बारे मात्रै सोच्नुपर्ने बताउँछिन्। ‘जे हुनु थियो भयो, म अहिले र भोलिको बारेमा मात्रै सोच्न र रमाउन चाहन्छु,’ रूपाको यस्तै सकारात्मक सोंच र व्यवहारको कारण पनि पहिलेको र अहिलेको जीवनशैली नै फेरिएको छ।
जस्तोसुकै अप्ठ्यारो परिस्थितीमा पनि सहजता पहिल्याउन सक्ने रूपा आफ्नो धेरैजसो कामका लागि अरूमा भर पर्दिनन्।
लेख्ने, पढ्ने, खाना खाने, मोबाइल ल्यापटप चलाउने, मेकअप गर्ने सबै काम खुट्टाबाटै गर्छिन्।
‘पढ्ने लेख्ने काम त भईहाल्यो, मेरो आफ्नो सरसफाई गर्ने, कपडा लगाउने, मेकअप गर्ने सबै काम म आफैं गर्छु, कपडाको बटम लगाउने र कपाल बाँध्न मात्रै आमाले सघाउनुहुन्छ,’ रूपाले भनिन्।
पढाई नबिग्रियोस् भनेर चार वर्ष यता संगीतलाई दिने समय छोट्याएकी रूपाले खुट्टाले नै लेखेर मास्टर्स पुरा गर्ने सपना साँचेकी छन्। ‘अध्ययन गरेर गीत संगीतमा लाग्नसके त्यसलाई दिगो र सफल बनाउन सकिन्छ, पढाई बीचमै छोडेर लाग्दा संगीतमा पनि सफल हुन सकिदैन,’ उनी भन्छिन्।
प्रदर्शनी आइडल २०७९ को उपाधि जितेपछि भने उनलाई गीत संगीतलाई पनि समय छुट्याउन आयोजकले सुझाव दिएका छन्।
प्रदर्शनी आयोजक रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले क्षमता भएर पनि लुकेर रहेका प्रतिभालाई उजागार गर्ने उद्धेश्यले संघले २०६४ सालदेखि प्रदर्शनी आइडल आयोजना गर्दै आएको बताए।