फिल्म 'द आउट ल' को शुभ मुहूर्त गरिएको छ। बिहीबार ललितपुरस्थित बंगलामुखी मन्दिरमा निर्माण टिमले पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो।
फिल्मको आजै ललितपुर नजिकैको एक सेटबाट छायांकन सुरु गरिएको छ। अबको ४० दिनभित्र छायांकन सक्ने निर्माण टिमको योजना छ।
अंगेजी नयाँ वर्षको छेको पारेर फिल्म निर्माण घोषणा गरिएको थियो। सोही दिन टिजर र फर्स्टलुक पोस्टरसमेत सार्वजनिक गरिएको थियो।
टिजर र पोस्टरबाट राम्रो प्रतिक्रिया पाएपछि थप मेहनतका साथ काम गर्ने अठोट लिएको निर्देशक विक्की महर्जनले बताए।
‘हामीले दर्शक तथा मिडियाबाट यसअघिका कन्टेन्टबाट राम्रो प्रतिक्रिया पाएका छौं। हामी धेरै लामो समयको तयारीपछि अहिले फ्लोरमा जान लागेका हौं। पक्कै पनि प्रोजेक्ट राम्रो बन्नेछ,’ उनले भने।
एक्सन थ्रिलर जनराको फिल्ममा अभिनेता सुशील श्रेष्ठ, शिक्षा संर्गौला, नरेश पौडेल, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारीलगायत कलाकारको अभिनय रहनेछ।
रेट्रो ग्रुपको ब्यानरबाट निर्माण गर्न लागिएको फिल्म आगामी वर्षको दसैं आसपास प्रदर्शन गरिने बताइएको छ।
विक्की महर्जनको निर्देशनमा निर्माण हुन लागेको फिल्मले कानुन नमान्ने व्यक्तिको कथा बोल्नेछ।
शशांक खड्का र अमित अग्रहरीको लगानीमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता विनोद कडायत हुन्। नविन गुरुङले छायांकन गर्ने फिल्म २ करोड बजेटमा बन्ने अनुमान छ।