सिंगापुरको इन्फानाइट स्टुडिओजले अस्कर कलेज अफ फिल्म स्टडिजका १५ विद्यार्थीलाई छात्रवृत्ति दिएको छ।
स्टुडिओको प्रतिनिधि सुयी मोले बिहीबार अस्कर कलेजमै आयोजित कार्यक्रममा सन् २०२३ मा छात्रवृत्ति पाउने १५ जना विद्यार्थीलाई रकम हस्तान्तरण गरेकी छन्। कार्यक्रममा ५ जना विद्यार्थीले इन्फाइनाइट छात्रवृत्ति र १० जनाले इन्फानाइट बुर्सरी अवार्ड प्राप्त गरेका थिए।
इन्फानाइट स्टुडिओजले २०७३ सालदेखि अस्कर कलेजमा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ।
कलेजले विद्यार्थीको वृत्ति विकासमा ठूलो योगदान पुर्याउने सुयीले बताइन्।
‘कलेजमै विद्यार्थीले सबै सीप सिक्ने भएकाले गर्दा फिल्म कलेज सिनेमा उद्योगका आधार हुन्। यही कारणले हामीले विद्यार्थीलाई छात्रवृत्ति दिने निर्णय गरेका हौं। आगामी दिनमा हामी अरू क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौं,’ उनले भनिन्।
मोले बिहीबार नै कलेजमा विद्यार्थीले बनाएका ६ वटा छोटा फिल्म पनि हेरेकी थिइन्। फिल्म हेरेपछि मोले विद्यार्थीसँग फिल्मका विषयमा छलफल गरेकी थिइन्।
छावृत्ति वितरण कार्यक्रममा बोल्दै कलेजका प्रधानाध्यापक रामराजा दाहालले इन्फानाइटले दिँदै आएको रकम कलेज र विद्यार्थीका लागि ठूलो महत्वको रहेको धारणा राखे।
‘छावृत्तिबापत विद्यार्थीले पाउने रकमको ठूलो अर्थ छ। यो बाहेक हामी स्टुडिओसँग आगामी दिनमा अरू क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक छौं,’ उनले भने।
स्टुडिओले कोभिड- १९ को महामारीका कारण क्षति बेहोर्नुपरेका विद्यार्थीका लागि भनेर दुई वर्षअघि बुर्सरी अवार्ड पनि वितरण गर्न थालेको थियो। स्डुडिओले तेस्रो वर्ष पनि यो अवार्डलाई निरन्तरता दिने निर्णय गरेको छ।