सामाजिक विषयवस्तुमा निर्माण गरिएको वेब सिरिज 'मै राम्री' पुस २८ गतेदेखि प्रसारण हुने भएको छ।
कुञ्जना घिमिरेको निर्देशनमा तयार भएको वेब सिरिज धुर्मुस सुन्तली युट्युब च्यानलबाट प्रत्येक बिहीबार साँझ ६:४५ मा प्रसारण हुनेछ।
नेपाली समाजमै देखिने विषयवस्तुलाई सिरिजमा उतारिएको छ। विशेषगरी बालबालिका र युवाहरूमा विभिन्न विषयले आउने उतारचढावलाई मुख्य विषय बनाइएको छ। यसको कथा सन्देश अर्यालले तयार पारेका हुन्।
‘हामीले युवापुस्ताको जीवनमा आउने उतारचढावलाई मुख्य विषय बनाएका छौं। प्रत्येक साता सिरिजको रूपमा प्रसारण हुनेछ,’ निर्देशक घिमिरेले भनिन्।
उनका अनुसार केही भाग छायांकन भइसकेको र अन्य भागका लागि छायांकन गर्ने तयारी भइरहेको छ। यस सिरिजको दुई साताअघि ट्रेलर सार्वजनिक भइसकेको छ।
मित्र गुरुङले सम्पादन गरेको उक्त ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
शुबिहानी फिल्म्सको ब्यानरमा निर्माण भएको सिरिजमा रामबाबु रेग्मी, गीता अधिकारी, दिनेश काफ्ले, सन्तोष बानियाँ, रेखा लिम्बु, शहिना भट्टराई, समिसन जिसी, प्रसन्न कार्की, आशिका बस्नेत, प्रमिला राई, मिलन राईलगायतको अभिनय छ।
राहुल राईले छायांकन गरेको वेब सिरिजलाई सन्तोष क्षेत्री र रविन भट्टले सम्पादन गरेका हुन्।