फिल्म '२ नम्बरी' हिट भएसँगै निर्देशक दिपेन्द्र लामालाई थुप्रै फिल्मको अफर आउन थालेको छ। केही समयअघि उनको लेखन तथा निर्देशनमा ‘नांगो गाउँ’ बन्ने घोषणा गरिएको थियो।
हालै उनले नयाँ फिल्म साइन गरेका छन्। सोमबार उनी र निर्माता हरि मल्ल ठकुरीबीच लिखित सम्झौता भएको हाे। फिल्मको नाम भने राखिएको छैन।
उनको पाँचौ फिल्म ‘नांगो गाउँ’ मा दयाहाङ राई, मिरुना मगर र शिशिर वाङ्देलको मुख्य भूमिका रहने छ। हिमाल शर्माले निर्माण गर्ने फिल्मको सुटिङ चैत्र महिनामा हुँदैछ।
‘नांगो गाउँ’ पछि मात्रै यो फिल्म फ्लोरमा जाने बताइएको छ।
यसअघि ‘लाखे’ फिल्म निर्माण गरेको कम्पनी ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टरको प्रस्तुतिमा निर्देशक लामाकै लेखन रहने फिल्मको कार्यकारी निर्मातामा हरि मल्ल ठकुरी र निर्मातामा गणेश मल्ल ठकुरी (जिएम) छन्। समिर घले सह-निर्माता रहेको फिल्मको कलाकार केही समयपछि छनोट गर्ने बताइएको छ।
‘घामपानी’ बाट निर्देशनमा डेब्यू गरेका दिपेन्द्र निर्देशित ‘छ माया छपक्कै र दुई नम्बरी’ सुपरहिट भइसकेको छ।