विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म 'प्रसाद २' को छायांकन सकिएको छ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा खिचिएको फिल्मको छायांकन ३१ दिनमा सकिएको हो। सुदर्शन थापाले निर्देशन गरेको फिल्मलाई राजेश श्रेष्ठले छायांकन गरेका हुन्।
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेको छ। यो फिल्म आगामी नयाँ वर्ष अर्थात् वैशाख १ गते रिलिज हुनेछ।
‘प्रसादलाई दर्शकले अपार माया दिनु भएको छ। प्रसाद २ ले पनि यस्तै माया पाउनेमा विश्वस्त छौं। दर्शकका लागि नयाँ वर्ष 'प्रसाद २’ ले विशेष बनाउनेमा आशावादी छौं,' निर्देशक थापाले भने।
यो फिल्म अब झरना थापा निर्देशित 'भगवत् गीता' सँग भिड्नेछ। 'भगवत् गीता' यसअघि नै नयाँ वर्षमा रिलिज हुने तय भएको छ।
एसजी फिल्म्स र सुलभ थापा प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा सुदर्शन बस्नेतको लगानी छ। सुवास थापा कार्यकारी निर्माता रहेको फिल्मको कथा सुशील पौडेलको लेखेका हुन्।
फिल्ममा विपिन र केकीको साथमा अर्पण थापा, राज कटुवाल, महेश त्रिपाठी, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी, निमा पाण्डेलगायत कलाकारको अभिनय छ।
यो फिल्म दिनेश राउत निर्देशित फिल्म 'प्रसाद' को सिक्वेल हो। दिनेश राउत निर्देशित 'प्रसाद' मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहेको थियो।