अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनीत फिल्म 'ह्यारीकी प्यारी' मोफसल टुरमा निस्किएको छ।
नेपालगञ्जदेखि अनौपचारिक रुपमा सुरु भएको टुर चितवनबाट औपचारिक रुपमा अगाडि बढ्नेछ। फिल्मको टिम शनिबार बिहान चितवन पुगेको हो। सोही दिन मध्यान्ह १२ बजेदेखि निर्माण टिमले प्रचार सुरू गरेको छ।
कमेडी जनराको फिल्मलाई चिकित्सक भोला रिजालका छोरा कपिल रिजालले निर्देशन गरेका हुन्। दन्त चिकित्सक कपिल रिजाल यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन्।
मोफसल टुरमा निर्देशक रिजालसँगै जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, सरला रिजाल, रञ्जना भट्टराई, गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेल उपस्थित छन्।
माघ ७ गतेसम्म चल्ने टुर चितवनपछि पर्सा, पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा पुगेर टुंगिनेछ।
विर्तामोडपछि काठमाडौं फर्किएर टिमले विभिन्न कार्यक्रम र मिडिया अन्तरक्रिया गर्ने बताइएको छ।
फिल्ममा सम्झौताको विवाहले ल्याउने उतारचढावलाई देखाइएको छ।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।
यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुँदैछ।