आइतबार बिहानै घामसित उठेँ म
हातमुख धोएर पढ्न बसेँ म...
बालगीतको उल्लिखित अंश रामबाबु सुवेदीले तीस वर्षअघि लेखेका हुन्।
उनले आफ्नो जीवनको तीन दशकभन्दा धेरै समय अध्यापन गरे। त्यो बेला काठमाडौंको बुढानीलकण्ठ स्कुलमा दस कक्षासम्म नेपाली विषय पढाउँथे। बालबालिकाका लागि साहित्य पनि लेख्थे। विद्यार्थीलाई किताबका पाठभन्दा बाहिरबाट के नयाँ सामग्री दिन सकिएला भनेर दिमाग चलाइरहन्थे।
त्यो ऊर्जा उनी कथा, निबन्ध र गीत सिर्जनामा लगाउँथे। आफ्ना रचनाकै उदाहरण दिएर भाषिक सीपहरू सिकाउँथे। ती रचनामध्ये कुन रेकर्ड गरेर गीत बनाउने भनेर छान्न उनी विद्यार्थीकै मद्दत लिन्थे। कक्षामा उभिएर विद्यार्थीलाई सुनाउँथे र १० पूर्णांकमा अंक दिन लगाउँथे। धेरै अंक पाएको रचना छनोटमा पर्थ्यो।
'धेरै जसो गीत यसैगरी छानेको हुँ,' तीस वर्ष बुढानीलकण्ठ स्कुलमा पढाएका साहित्यकार रामबाबुले सेतोपाटीसँग भने, 'आइतबार बिहानै घामसित उठेँ म पनि विद्यार्थीले दिएको अंककै आधारमा छनोटमा परेर रेकर्ड भएको थियो।'
सामान्यतया शिक्षकले विद्यार्थीको मूल्यांकन गर्ने हो। विद्यार्थीले शिक्षकका रचना सुनेर, पढेर मूल्यांकन गर्दै अंक दिनु सामान्य पक्कै होइन। यो अभ्यास बुढानीलकण्ठ स्कुलमा पनि अनौठो मानिएको थियो। अरूलाई रामबाबुको यो व्यवहार अचम्म लाग्थ्यो, विद्यार्थी भने दंग थिए। उनीहरूको खुसीले रामबाबुमा ऊर्जा थप्थ्यो। विद्यार्थीले छानेका उत्कृष्ट कविता र गीतको संग्रह पनि प्रकाशन गरे।
'कुनै व्यक्तिको साहित्यिक पृष्ठभूमि उसको जीवनका घटना र संघर्षका अनुभूतिका आधारमा तयार हुन्छ,' रामबाबु भन्छन्, 'त्यही पृष्ठभूमिले साहित्य लेखनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ।'
उनका रचनाहरूमा पनि संघर्षका अनुभूति भेटिन्छन्।
पचहत्तर वर्षअघि कास्कीमा जन्मिएका रामबाबुको बालापन आमाले सुनाएका कथा र गीत सुनेर बित्यो। उनी सानै छँदा बाबु बिते। त्यो बेलाको समाज आजको जस्तो परिवर्तनशील थिएन। बाबुबिना हुर्केका छोराछोरीप्रति समाजको व्यवहार हेपाहा हुने गरेको रामबाबुको अनुभव छ। श्रीमान बितेका महिलालाई छरछिमेकले गर्ने व्यवहार राम्रो थिएन। उनकी आमालाई आफन्तहरूले हेप्थे। खेतबारी मिच्न खोज्थे। धेरै दुःख खेप्नुपर्यो।
आमाले दृढताका साथ संघर्ष गरिन्। छोराछोरी हुर्काइन्, बढाइन्, पढाइन्। यो यात्रामा उनले आफ्ना सन्तानलाई कथा-कविताहरू सुनाइन् जो रामबाबुको दिमागमा अझै ताजा छन्।
'आमाले सुनाएको शिशिर–वसन्तको कथा मलाई अझै याद छ। आमाले भनेका लोककथा सुन्दै निदाउँथेँ,' उनले भने, 'उहाँका कथा र कवितामा आफ्नै पीडा पोखिएको हुन्थ्यो। उहाँ कविता बनाएर आफ्नै संघर्षको कुरा सुनाउनुहुन्थ्यो।'
उनी गुरुङबाहुल्य गाउँमा हुर्केकाले गुरुङ समुदायका बालुङ र दोहोरी गीत पनि सुन्दै हुर्के। बाल्यावस्थाको पारिवारिक र सामाजिक परिवेशले आफूलाई साहित्यकार बनाएको उनको भनाइ छ। बालसाहित्य लेख्न त्यही परिवेशले प्रेरित गरेको हो।
बाल्यावस्थाको प्रभावअनुसार बालिबालिकाको भविष्य निर्माण हुन्छ भन्ने रामबाबुलाई लाग्छ।
भने, 'आमाले कथा, कविता नसुनाएको भए कविता लेख्ने थिइनँ होला। आमाले सुनाएकै कुरा टिपेर लेख्न सिकेँ। लेख्दालेख्दै साहित्यकार भएँ।'
आमाको मुखबाट साहित्य सुन्दै हुर्केका उनी आफैं साहित्य लेख्न थाले।
रामबाबु जन्मिएको गाउँ हंसपुरमा विद्यालय थिएन। गाउँलेहरूले मिलेर राखेका शिक्षकसँग पिँढीमा बसेर पढे। कहिले कटेरोमा त कहिले रूखको फेदमा पढाइ हुन्थ्यो। केही वर्ष यसरी पढेपछि पोखरा गएर सात कक्षामा भर्ना भए। आफ्नो गाउँबाट एसएलसी परीक्षा दिने पहिलो विद्यार्थी पनि उनी नै थिए।
पोखरामा १७ वर्ष उमेरका रामबाबुले गीतकार तथा गायक धर्मराज थापालाई भेटे।
धर्मराजले पहिलोपटक भनेका केही कुरा उनले सम्झिराखेका छन्— बाबु, राम्रोसँग पढ्नू पढेपछि लेखक भइन्छ!
लेखक बन्ने हुटहुटीले उत्साहित भए अनि भूपि शेरचनलाई पनि भेटे। बिस्तारै लेखक–साहित्यकारहरूसँग भेट्ने क्रम बढ्यो। भेटघाट बढ्दै गएपछि साहित्य लेखनमा फड्को मार्न मद्दत पुग्यो।
पोखरामा एसएलसी परीक्षा दिएपछि उनी काठमाडौं आए। यहाँ पनि सिद्धिचरण श्रेष्ठ, माधवप्रसाद घिमिरे लगायत कविहरू भेटे। रामबाबु जो कवि भेट्न जाने हो, उनैको एउटा कविता कण्ठस्थ पारेर सुनाउँदा रहेछन्।
यसो गर्दा उनलाई दुइटा फाइदा भयो— कविलाई उनकै कविता सुनाउन पाए अनि शब्दभण्डार बढ्यो।
'सिद्धिचरणलाई लय मिलाएर कविता भनेको औधि मनपर्थ्यो। कविता सुनाएपछि मात्र बातचित हुन्थ्यो,' उनले भने, 'कविता कण्ठ गरेर सुनाउने बानीले मलाई कवि बन्न मद्दत गर्यो।'
२०२४ सालमा उनी बीस वर्षका थिए। त्यही बेला उनको पहिलो रचना प्रकाशित भयो, भारतीय पत्रिकामा। वनारसबाट निस्किने 'भानु उदय' नामक पत्रिकामा उनको 'प्रभात' शीर्षकको कविता छापिएको थियो।
उनका गाउँका अग्रज दाइहरू वनारस पढ्न गएका थिए। उनले तिनै दाइहरूलाई आफ्ना रचना दिएर पठाएका थिए। पत्रिकामा कविता छापिएपछि उनको उत्साह झनै बढ्यो। झन् धेरै लेख्न थाले। बिस्तारै आफ्ना रचना, खासगरी आफन्त र चिनारूलाई सुनाउन थाले। कविता सुनेपछि उनीहरूले स्याब्बासी दिन्थे, हौस्याउँथे।
उनको लेखन यात्रा निरन्तर रफ्तारमा रह्यो। साहित्यकारहरूको सूचीमा रामबाबु चर्चित नाम बन्न सफल भयो।
साहित्य लेखनको प्रेरणा आमा नै हुन्, त्यसैले रामबाबु आफ्नो साहित्यिक कृतिको सुरूमा आमाले सुनाएकै कुनै गीतको टुक्रा वा कवितांश लेख्छन्।
सेतोपाटीसँग कुरा गर्दा पनि उनले आमाले सुनाएको गीतको एक टुक्रा सम्झे—
काग कोइली वनमा ढुकुर जुरेली
पन्छीमा राम्रो मुजुर
फूल फुल्यो नझरी सबै वनभरि
टिपेर ल्याऊँ कि हजुर...
उनले गीतबारे भने, 'यहाँ काग, कोइली, ढुकुर, जुरेली र मयुर छन्। यी बालबालिकालाई मनपर्ने चरा हुन्। वनमा यी चरा छन्, त्यहीँ सयौं फूल फुलेका छन्।'
रामबाबु साहित्य लेखनलाई ठेकीमा दही मथेर घिउ निकालेजस्तै मान्छन्।
भन्छन्, 'जीवन मथेपछि कविता निस्कन्छ, कविता मथेपछि गीत। गीत नै जीवनको कोमल चुरो हो। गीत हृदयको तीव्र स्पन्दन हो, मुटुको अतल गहिराइबाट निस्किन्छ।'
बालगीत बालबालिकाका लागि लेखिएको गीत हो।
उनका अनुसार बालमनोविज्ञानको तत्त्व जानकारी नभई बालगीत हुन सक्दैन। कोमल शब्द र शैलीमा, भावमा गुँथिएका गीत नै बालगीत हुन्। बालगीतमा मूर्च्छना हुन्छ, मुर्छा हुँदैन। बालगीतमा केवल आशाको सरगम हुन्छ, चेतनाको दियो हुन्छ।
विद्यार्थीहरूलाई सधैं नयाँ कुरा सिकाउन हौसिने रामबाबुलाई शिक्षक बन्न सिद्धिचरण श्रेष्ठले मद्दत गरेका हुन्। उनकै सहयोगमा २०३० सालदेखि त्रिभुवन आर्दश माध्यमिक विद्यालयमा पढाए। ६ वर्षपछि बुढानीलकण्ठ स्कुल पुगे।
बुढानीलकण्ठ पुगेपछि रामबाबुको लेखनको गति बढ्यो। विद्यार्थीलाई मूल्यांकन गर्न लगाउने काम यहीँ सुरू गरेका हुन्। उनले आफ्ना साहित्यिक रचनामा रामबाबु सुवेदीको राटो 'राजीव' नाम राखे। यो नामको रहस्य पनि गोप्य राखे, कसैलाई सुनाएनन्।
यही नामबारे उनले एउटा किस्सा सुनाए।
बुढानीलकण्ठ स्कुलमा सांस्कृतिक कार्यक्रम हुँदा राजीवका गीत पनि बजाइन्थे। विद्यार्थीहरू खुब रमाइलो मानेर नाच्थे।
रामबाबुले मुस्कुराउँदै सुनाए, 'त्यस्तो दृश्य देख्दा म आनन्दले मुस्कुराउँथे। शिक्षक र विद्यार्थीहरूले राजीव चिनेका थिएनन्।'
उनले राजीव नामबाटै तीनवटा कृति प्रकाशन गरे— कमिनी आमा (कवितासंग्रह), जमुनीको छोरो (सचित्र बाल कवितासंग्रह), लु सुन (खण्डकाव्य)।
'कमिनी आमा' उनको आफ्नै अनुभूतिसँग जोडिएको छ, उनको गाउँकै पात्र हुन्। उनी दिनभरि ढिकी कुट्थिन्। ज्यालामा कनिका पाउँथिन्। त्यही बोकेर साँझ घर फर्किन्थिन् र जाउलो बनाएर छोराछोरीलाई खुवाउँथिन्।
समाजमा दबिएको यिनै आमाको आवाज विचार गर्दै उनले कविता लेखेका हुन्।
'जमुनीको छोरो' शीर्षक गीत एकदमै चर्चित हो। केही समयअघि मात्र रिलिज भएको फिल्म 'ऐना झ्यालको पुतली' मा पनि यो गीत राखिएको छ।
गीतबारे रामबाबुले भने, 'गाँउकी जमुनीको छोरालाई मानिसहरू स्कुल गएन भन्छन् तर कापीकलम नै नभएर स्कुल नगएको भनेर कोही बुझ्दैनन्। मैले यही पीडा बालगीतमा उतारेको हुँ।'
बुढानीलकण्ठ स्कुलमा शिक्षक हुँदा उनले बेलायतको इटन कलेजमा एक वर्ष पढाउने अवसर पाएका थिए। यसबाट उनको साहित्यिक क्षितिज झन् फराकिलो भयो।
उनी राजनीतिमा पनि लागेका थिए। कास्की जिल्लामा केही गरौं भनेर १५ वर्ष राजनीतिमा हिँडेपछि लाग्यो— राजनीति मेरो कर्म होइन रहेछ!
'म लेखक हुँ, यस्तो फोहोरी राजनीतिबाट पार लाग्दैन भनेर छोडेँ,' उनले भने।
रामबाबुले गीत, कविता, कथासँगै एकांकी नाटक लेखे, निर्देशन पनि गरे। आफूले लेखेका ४० वटाभन्दा बढी कृति प्रकाशित भएको उनले बताए। अचेल डिजिटल माध्यममा पनि आउन थालेका छन्। केही बालगीत उनको युट्युब च्यानलमा छन्। सबैभन्दा बढी मनपराइएको छ 'आइतबार बिहानै घामसित उठेँ म...।'
बालबालिकाले बुझ्ने र मन पराउने गरी बालगीत र अन्य बाल साहित्य लेख्ने काम सजिलो छैन। उनका अनुसार बालबालिकाको मन थाहा पाएर, आफूलाई पनि त्यस्तै सम्झेर लेख्नेले मात्रै बाल साहित्य सिर्जना गर्न सक्छ।
अचेलका धेरै बालगीत बालबालिका केन्द्रित छैनन् भन्ने पनि उनलाई लाग्छ। बाल साहित्यमा शब्द चयन र लय अर्को महत्त्वपूर्ण पक्ष हो। यी सबै पक्ष विचार गर्नेले मात्रै बाल साहित्य सिर्जना गर्न सक्छ।
भन्छन्, 'बाल साहित्य लेखनमा एउटा विषयमा मात्र केन्द्रित हुनुपर्छ। धेरै कुरा जोड्न थाल्यो भने उपयुक्त हुँदैन।'
त्यस्तै किताबहरू केटाकेटीलाई रोजाएर किनिदिनुपर्ने उनी बताउँछन्। यति मात्र होइन, बालकिताबहरू गुणस्तरीय कागजमा छापिनुपर्छ। सानादेखि किशोर उमेरसम्मका केटाकेटीका लागि भाषा पनि उपयुक्त छान्नुपर्छ। शुद्ध भाषा पढ्न दिनुपर्छ। छोटा वाक्यहरू हुनुपर्छ। गीत पनि बालबालिकाले बुझ्ने शब्द र लयमा उमेरअनुसारै गाउन लगाउनुपर्ने उनी बताउँछन्।
'बालबालिकाहरू यथेष्ट हाँस्नुपर्छ, नाच्नुपर्छ, खेल्नुपर्छ र रमाउनुपर्छ। बाल्यावस्थाको कोमलतालाई गीतसंगीतले पखेटा र आकाश दिन्छ,' उनले भने।
'साझा बाल साहित्य' सहित अरू केही पुरस्कार पाएका रामबाबु उमेरले उत्तरार्द्धमा पुगिसके। उनका सात वटा किताब छापिने तयारीमा छन्
भन्छन्, 'संसारभरका बालबालिकाहरू गुनगुनाउनु पर्छ, छुनमुनाउनु पर्छ। नगुनगुनाएको र नछुनमुनाएको जीवन निराश हुन्छ।'
सबै तस्बिरः सुसन चौधरी/सेतोपाटी