लागुऔषध दुर्व्यसनी विरुद्धको कथामा तयार भएको फिल्म 'सरी मम' यही बिहीबारदेखि प्रदर्शन हुँदैछ।
प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्म हेर्ने दर्शकलाई विभिन्न अफरहरू लिएर आएका छन्।
निर्माण टिमले दुइटा टिकट किन्दा दर्शकले एउटा सित्तैमा पाउने बताएको छ। फिल्म प्रदर्शनमा आउने हलहरूसँगको सहमतिमा उक्त योजना ल्याइएको निर्देशन नविन बोगटी बताए।
निर्माण कम्पनी एनएफआई क्रियशनले आमा र छोराको प्रेम सम्बन्धी टिकटक बनाउँदा दर्शकलाई ५० हजार पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।
आमासँगको तस्बिर तथा भिडिओे सरीमम र एनएफआई क्रियशन ह्यासट्यागसहित टिकटक बनाउँदा धेरै लाइक पाउनेलाई २५ हजार र क्रियटिभ टिकटकलाई २५ हजार पुरस्कार दिइनेछ।
यस्तै बसुन्धरामा रहेको चिरायू अस्पतालले फिल्म हेरिसकेर टिकटको कपी लिएर अस्पताल पुग्ने दर्शकलाई सबै स्वास्थ्य परिक्षणमा ५० प्रतिशतसम्म छुट दिने भएको छ। निर्माता विनोद लामाले यो अफर माघ महिनाभरलाई ल्याइएको बताए।
मुख्यतः किशोरावस्था र युवापुस्ताका दर्शकलाई लक्षित गरेर निर्माण गरिएको फिल्मको प्रदर्शनी तथा च्यारेटीलाई सरकारी स्तरबाट प्रदेश सरकार, नगरपालिका, गाउँपालिका, नेपाल प्रहरीसँगै नेपाल जेसिज, नार्कोनान नेपाल शिक्षा क्षेत्रमा क्रियाशील संस्थाहरू प्याब्सन, एन-प्याब्स, हिसान, शिक्षक महासंघलगायतले सहकार्य गरिसकेका छन्।
एनएफआई क्रियशनको ब्यानरबाट बनेको फिल्मका निर्माता सिनेटर खेमराज अधिकारी र रोजिता तामाङ छन्।
नविन बोगटीले निर्देशन गरेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल ठकुरी, प्रविल कडेल, आरबी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाईं, रेजिना मगर, सरोज बखुरेन, लालमणि भण्डारीलगायत कलाकारको अभिनय छ।
फिल्मको कथा आयुष बुढाथोकी र सरोज पौडेलले तयार पारेका हुन्।
दिर्घ गुरुङले छायांकन गरेको फिल्मलाई प्रितम पाण्डेले सम्पादन गरेका हुन्।