नेपाली चलचित्रकर्मी कल्याण कोषमा पाँच करोडभन्दा बढी रकम जम्मा भएको छ।
मंगलबार चलचित्र विकास बोर्डमा एक कार्यक्रम आयोजना गर्दै नेपाली तथा बलिउड गायक-गायिका दम्पती उदित नारायण झा र दीपा नारायण झाले कोषलाई ५ लाख १११ रूपैयाँ प्रदान गरेका छन्। उक्त रकम गायिका झाले कोषलाई हस्तान्तरण गरेकी हुन्।
उनीसँगै अभिनेता तथा निर्माता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले जनही १ लाख १११, अभिनेत्री स्वस्तिमा खड्का र कलाकार तथा निर्माता निर्मल शर्माले जनही ५१ हजार १११ र चलचित्रकर्मी महिला सशक्तीकरण समितिकी संयोजक गीता नेपालले ११ हजार १११ रुपैयाँ कोषमा प्रदान गरेका छन्।
गायिका झाले आफ्नो जीवनकालको महत्वपूर्ण समय दिएको क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।
त्यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा राखेको बताए।
नेपाली फिल्म क्षेत्रमा निरन्तर रुपमा कार्यरत फिल्मकर्मी गम्भीर बिरामी भएको अवस्था, दुर्घटनामा परी उपचाररत अवस्था, आर्थिक रुपले विपन्न एवम् असहाय भएको अवस्थामा सहयोग गर्ने उद्देश्यले २२ वर्षअघि कोष स्थापना भएको थियो।
कोषमा हालसम्म पाँच करोड रकम जम्मा भएको कोषकी संयोजक बसुन्धरा भुषालले बताइन्। कोषको लक्ष्य १० करोड रुपैयाँ पुर्याउने रहेको छ।
कार्यक्रममा दीपा झा, दीपकराज गिरी, दीपा श्री निरौला र गीता नेपाल, चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरू शम्भुजीत बास्कोटा, कृष्ण मल्ल, राजकुमार राईसहित नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का र उपाध्यक्ष मोहन निरौला, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, बोर्डका सदस्यद्वय राज कटुवाल र प्रकाश भट्टराई, फिल्मकर्मी माधवराज खरेल, गोपाल ढकाल छन्देलगायतको उपस्थित थियो।