चर्चित गायिका दीपानारायण झा गत पुस २८ गते पोखरा आएकी थिइन्। पोखराका गायिकाहरूले खोलेको संस्था 'हार्मोनी' ले उनको सम्मानमा 'टेस्ट अफ हार्मोनी, धुनहरूमा दीपानारायण झा' सांगीतिक कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा दीपाले आफ्ना तीनवटा गीत गाइन्। पोखरेलीहरू उनको गीत लाइभ सुन्न पाएर मख्ख परे। उनका गीत अरू गायिकाले पनि गाएर उनलाई सम्मान गरेका थिए।
त्यही मेसोमा पोखरामा सेतोपाटीसँग दीपाले आफ्नो सांगीतिक यात्राको पोयो फुकाइन्।
नेपालसँग उनको दुइटा साइनो छ।
एउटा गीत-संगीतको।
अर्को पारिवारिक।
भारतको कालिङपोङमा जन्मिएर त्यहीँ हुर्किएकी दीपा नेपालीभाषी हुन्। उनको माइतीको थर गहतराज हो। नेपाली गीत-संगीत सुन्दै, गाउँदै उनी ठूली भइन्। उनका जिजुहजुरबुवा नेपालको इलामबाट उता दार्जिलिङ गएका थिए रे। नेपालसँग पुस्तैनी सम्बन्ध भएकी दीपाले श्रीमान पनि नेपालकै रोजिन्।
नेपाली गीत-संगीतकै कारण आफ्नो र पति उदितनारायण झाको मिलनमा भएको उनी बताउँछिन्।
दीपा दार्जिलिङमा हुँदा सानैदेखि रेडियो नेपाल सुन्थिन्। गायिकाहरू तारादेवी, मीरा राणा, नारायण गोपाल, ज्ञानु राणा लगायतका गीत मन पराउँथिन्।
उनका बुबा गुप्तचर निकायमा काम गर्थे। कामको सिलसिलामा बुबा कलकत्ता जानुपर्ने भएपछि दीपा पनि सँगै गइन्। त्यहीँ गायन पनि सिकिन्।
गीत गाउनेजस्तै उनलाई देशविदेश घुम्ने सोख थियो। यही रहरले दीपालाई एयर-होस्टेस बनाएको थियो।
'अरू लन्डनमा यस्तो छ, जापान त्यस्तो राम्रो छ, न्युयोर्कमा लामा लामा घरहरू छन्, हावा चल्दा यस्तरी हल्लिन्छ भनेको सुन्दा मनलाई कहिले जाऊँ जस्तो हुन्थ्यो। त्यति बेला मलाई जापान जान एकदम मन लागेको थियो,' दीपाले भनिन्।
अहिले जस्तो त्यति बेला सजिलै घुम्न जान पाउने सुविधा थिएन। एयर-होस्टेसको जागिर यसरी देशविदेश घुम्ने सबभन्दा उपयुक्त अवसर उनले ठानेकी थिइन्। कलकत्तामै पढेकी उनले एयर-होस्टेसको जागिर खुलेको थाहा पाइन्। ६ महिना तालिम लिइन्। एयर-इन्डियामा नाम निकाल्न सफल भइन्।
'घुम्नकै लागि एयर-होस्टेस हुन मनलागेको थियो,' उनले भनिन्, 'एयर-होस्टेसको जागिर खानै मैले उमेर घटाएर पासपोर्ट बनाएकी थिएँ। करिब १३ वर्ष जागिर खाएँ।'
गायन क्षेत्रमा भने उनी एयर-होस्टेस हुनुअघि नै लागिसकेकी थिइन्। उनले गाएका केही नेपाली गीत हिट भइसकेका थिए। तीमध्ये एक थियो 'परालको आगो' फिल्मको 'सुनमाया' गीत।
'परालको आगोमा शान्ति ठटालको संगीत थियो। गायिका अरूणा लामा हुनुहुन्थ्यो। सुनमाया बोलको गीतमा उहाँसँगै मैले पनि गाएँ। म फुच्ची थिएँ। माइकअगाडि उभिएर गाउने पहिलो मौका पाएकी थिएँ,' उनले भनिन्।
उदितसँग भने उनको भेट कलकत्तामा हुँदै भएको हो। एयर-होस्टेसको काममा बिदा परेका बेला उनी गीत गाउँथिन्। एकदिन संगीतकार रञ्जित गजमेरले आफ्ना गीतमा स्वर दिन दीपालाई आग्रह गरेका थिए।
'पुरुष स्वर कसले गाउने?' दीपाले सोधिन्।
'नेपालबाट एउटा भाइ आएको छ,' रञ्जितले भने।
रञ्जितले भनेका 'भाइ' उदित थिए।
त्यति बेला दीपा र उदितको युगल स्वरमा दुइटा गीत रेकर्ड भए- गहिरो गहिरो सागर जस्तो र कुसुमे रूमाल।
यी गीत पछि तुलसी घिमिरेका फिल्म 'सम्झना' र 'कुसुमे रूमाल' मा राखिए। दीपालाई यी गीत अहिले पनि उनलाई उत्तिकै प्रिय छन्।
यसपछि दीपा र उदितको युगल गायन यात्रा निरन्तर रह्यो। यो क्रममा उनीहरू नजिकिँदै गए।
दीपाले उनीहरूको सहयात्राको एउटा प्रसंग सुनाइन्।
लन्डनबाट उनी रात्रिकालीन उडानमार्फत बिहानीपख मुम्बई ओर्लिएकी थिइन्। त्यहाँबाट सिधै मुम्बईको मेहबुब स्टुडियो पुगिन् जहाँ उदित र संगीतकार गजमेर लगायत उनलाई पर्खिरहेका थिए। फिल्म 'झोडा' को गीत रेकर्ड गर्नु थियो।
त्यहाँ दीपालाई उदितले जिस्काउन थाले।
भनेछन्, 'तिमी त साह्रै राम्री देखियौ, तिमीलाई म खल्तीमा हाल्छु।'
दीपालाई रिस उठेछ।
भनिछन्, 'मलाई त्यसो भनेको मन पर्दैन।'
दीपा रिसाएपछि उल्टो उदित ठुस्केर बसे। खाना पनि नखाई चुपचाप भएपछि संगीतकार गजमेरलाई आपत पर्यो। उनी र अरूले पनि दीपालाई उदितलाई फकाउन भनेछन्।
त्यति बेला अहिलेको जस्तो ट्र्याक बनाएर गीत रेकर्ड गर्ने प्रविधि थिएन। ७० जनासम्म वाद्यवादकले एकसाथ बजाएर रेकर्ड गराउनुपर्थ्यो। एक जनाले बिगार्दा सबैले फेरि बजाउनुपर्थ्यो। बाजाको सुरसँगै गायकले फेरि गाउनुपर्थ्यो।
यी सबै झमेला सम्झेपछि दीपाले ठुस्केर बसेका उदितलाई फकाउने सोचिन्।
उदितछेउ गएर भनिछन्, 'खाना खानु न त!'
'खान्नँ,' उदितले जवाफ फर्काए।
'मैले केहीबेरसम्म सम्झाइरहेँ। फकाइरहेँ। अनि बल्ल खुसी भएर खाना खानुभयो। गीत पनि रेकर्ड गर्यौं,' दीपाले सम्झिन्।
त्यही घटनापछि आफूहरू नजिकिन थालेको उनले बताइन्। उदित दीपालाई गीत गाउन र शब्द प्रष्ट उच्चारण गर्न सिकाउँथे। यसरी सुरू भएको सहयात्रामा उनीहरूले सयौं हिट गीत गाए। नेपाली फिल्म र आधुनिक गीतमा छुट्टै छाप छाड्न उदित–दीपाको जोडी सफल भयो।
अन्ततः उनीहरू गीतमा मात्र होइन, जीवनका पनि जोडी भए।
दीपा पहिलो पटक नेपाल उदितसँगै आएकी थिइन्। त्यति बेलासम्म 'सम्झना' र 'कुसुमे रूमाल' रिलिज भएर उनीहरूका गीत हिट भइसकेका थिए।
मुम्बईबाट आएर उनीहरू धरानको दन्तकाली मन्दिर पुगे र सिन्दुर-पोतेको विधि गरी बिहे गरे। त्यतिखेर उदित रेडियो नेपालका जागिरे थिए। बिहेपछि बसबाट मुग्लिन हुँदै काठमाडौं गएको उनी सम्झिन्छिन्।
'मुग्लिनमा गोलभेँडाको अचारसँग दालभात खाएका थियौं, अझै याद छ,' उनले भनिन्, 'काठमाडौं आएर श्रीमानले रेडियो नेपाल घुमाइदिनुभयो। सबै जनासँग चिनाइदिनुभयो।'
काठमाडौं घुमेर उनीहरू पोखरा आए।
'हामीले हनिमुन नै पोखरामा मनाएको हो,' उनले भनिन्, 'त्यो बेला पोखरा सानो थियो। हामी सानो लजमा बसेका थियौं।'
घरमा नभनी बिहे गरेर फर्किए पनि दुवैको परिवारले स्वीकार गरेको उनी बताउँछिन्।
यसरी जोडी बाँधिएका उनीहरूले नेपालमा पनि युगल गीतहरू रेकर्ड गराए। केही समयपछि दुवै मुम्बई फर्किए। उनीहरूको सांगीतिक यात्रा मुम्बईमै चम्किँदै गयो। नेपाली र हिन्दी फिल्मका साथै आधुनिक गीतहरूमा उनीहरूले स्वर दिए। पछाडि फर्केर हेर्नै परेन।
'मैले भोजपुरी, मैथिली, दक्षिण भारतीय लगायत गरी २० भाषामा गीत गाएकी छु,' उनले भनिन्।
गीतको चापाचापमा पनि दीपाले एयर-होस्टेसको जागिर छाडेकी थिइनन्। ड्युटी क्रममा मुम्बई पुगेका दिन ६ वटासम्म गीत रेकर्ड गर्न भ्याउँथिन्। छोरा आदित्यनारायण जन्मिएपछि भने जागिर छाडिन्। संगीतबाट पनि केही समय टाढा भइन्।
नेपालसँग पनि उनको त्यस्तै भयो। सांगीतिक र पारिवारिक नाता भए पनि लामो समय फर्केर आउन पाइनन्। उनलाई यहाँ कार्यक्रमका लागि थुप्रै प्रस्ताव आएका थिए। तर घर, सन्तान र कामको व्यस्तताले लामो समय नेपाल आउन नपाएको उनले बताइन्।
यसपालि हार्मोनीको कार्यक्रमका लागि नेपाल आउन पाउँदा खुसी लागेको उनले बताइन्।
'पोखराले पहिलो पटक मेरो एकल सांगीतिक कार्यक्रम राखेको छ,' उनले खुसी हुँदै भनिन्, 'यसअघि मेरो एकल सांगीतिक कार्यक्रम भएको थिएन।'
यही अवसरमा दीपाले नयाँ एल्बम पनि सार्वजनिक गरिन्। यसमा उनलाई उदित र आदित्यले पनि साथ दिएका छन्।
दीपाका पुराना केही नेपाली गीत अहिले पुनः रेकर्ड र रिमेक गरिएका छन्। नयाँ पुस्ताका गायकले कभर पनि गाएका छन्। नयाँ पुस्ताले यसरी आफ्नो गीत गाउँदा खुसी लाग्ने उनी बताउँछिन्।
दीपालाई नेपाली स्रोताले सधैं माया र सम्मान दिएको अनुभव हुन्छ। सांगीतिक क्षेत्रमा पनि आफ्नो चर्चा नेपालमै धेरै छ भन्ने लाग्छ। त्यसैले नेपालसँग बेग्लै लगाव भएको उनले बताइन्।
'नेपाल मेरो माइती हो,' दीपाले भनिन्, 'मलाई मेरो माइती नेपालले चिन्यो, चिनायो। बसाइ र कर्मथलो मुम्बई बन्यो। कार्यक्रमहरूमा जुनसुकै देश जाँदा पनि नेपाली स्रोता भेटिनुहुन्छ। नेपाली गीत गाउन आग्रह गर्नुहुन्छ। अनि हामी गाउँछौं कुसुमे रूमाल...।'