म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारमा ‘मुक्तिनाथ सुन चाँदी पसल’ चलाउँदै आएका तप्तबहादुर विश्वकर्मालाई धेरैले सुनचाँदी व्यवसायीका रुपमा चिन्दै आएका थिए। विगत ४५ वर्षदेखि यस व्यवसायमा संलग्न उनी कोभिड–१९ पछि भने कलाकारका रूपमा उदाएका छन्।
उनी अचानक कलाकार बनेका हुन्। कोभिड भाइरस नियन्त्रण गर्न मुलुकमा लकडाउन गरिएपछि घरभित्रै बस्नु पर्दाको पीडा कम गर्न उनले सेतो कपडा र कागजमा सिसाकलम, इनामेल र रंगहरूले मनका भाव पोख्न थाले। हेर्दाहेर्दै विभिन्न आकृतिका चित्रहरू बने।
उनका चित्र कुनै त्रिकोण जस्ता, कुनै चक्र जस्ता, कुनै फूल जस्ता, कुनै मण्डला जस्ता, कुनै मन्दिर जस्ता छन् भने कुनै आइसक्रिम जस्ता।
‘लकडाउनमा काम केही भएन, व्यापार भएन। घर बाहिर हिँडडुल गर्न पाइएन’, उनले भने, ‘त्यसैले धार्मिक किताबका चित्र हेरेर आफैं चित्र कोर्न सुरु गरेको हुँ।’
सिसाकलम, इनामेल, रंग, ब्रुस र कागजमा बनाइएका चित्रहरूलाई उनले ‘लकडाउनका आकृति’ नाम दिएका छन्। लकडाउनमा उनले ८० ओटा चित्र बनाए। कुनै चित्र बनाउन दुई घण्टा लाग्यो भने कुनै बनाउन १० घण्टा।
पर्वतको मल्लाजमा जन्मे/हुर्केका उनले कक्षा २ सम्म पढेका छन्। विगतमा उनी आफैं गहनाका डिजाइन बनाउँथे। अचेल सबै काम उनका कालिगढले गर्छन्।
उनी जीवनसाथीसँग पसलमा बस्छन्। उनको पसल इन्द्रेणी टोलको तपस्या चोकमा छ। उनी सामाजिक काममा पनि सक्रिय छन्। हाल विश्वकर्मा समाजका अध्यक्ष पनि हुन्।
उनमा चित्र बनाउने भोक छ। तर, उनले लकडाउन पछि भने चित्र बनाउने फुर्सद पाएका छैनन्। ६८ वर्षे कलाकार तप्तबहादुर भन्छन्, ‘अचेल दिनभरि पसलमा बस्नु पर्छ। चित्र बनाउने ट्याम नै पाएको छैन।’
सम्पर्क
तप्तबहादुर विश्वकर्मा–९८४७६२३३८३
मुक्तिनाथ सुनचाँदी दुकान
बेनीबजार, म्याग्दी
हेर्नुहोस् तस्बिरहरू