क्याप्टेन तथा कलाकार विजय लामा, निर्देशकको मिलन चाम्स, गायक पूर्ण लिम्बु र अभिनेत्री एलिशा राई 'आदिवासी जनजाति चलचित्र विशेष सम्मान-२०७९' बाट सम्मानित भएका छन्।
बिहीबार सुनसरीको झुम्कामा अवस्थित म्याजिक फिल्म हलमा आदिवासी जनजाति चलचित्र महासंघ, प्रदेश १ ले एक कार्यक्रम आयोजना गर्दै उक्त सम्मान गरिएको हो।
फिल्म र संगीत उद्योगमा पुर्याएको योगदानको मूल्यांकन गर्दै उक्त सम्मान प्रदान गरेको आदिवासी जनजाति समाजले उल्लेख गरेको छ।
नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुणकुमार प्रधान, म्याजिक फिल्म हलका सञ्चालक तथा थारु फिल्मका पहिलो अभिनेता पशुराम चौधरी, निर्माता तथा निर्देशक लाखमान योन्जन तामाङ, कलाकार रितेशलंग खत्रीलगायतलाई पनि सम्मान गरिएको थियो।
‘आदिवासी जनजाती चलचित्रको महत्त्व र आवश्यकता सम्बन्धी अन्तरक्रिया, सम्मान कार्यक्रम तथा साधारण सभा’ नाम दिइएको कार्यक्रममा महासंघका प्रदेश १ अध्यक्ष ज्योतिराज राईको सभापतित्व तथा प्रदेश १ संसद इन्द्र आङ्बोको प्रमुख आतिथ्यता रहेको थियो।
चलचित्र विकास बोर्ड सह-आयोजक रहेको कार्यक्रममा विभिन्न आदिवासी जनजातिले आ-आफ्नो झाकी, भाषिक गीतमा नृत्य तथा गायन प्रस्तुत गरेका थिए।
कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद अध्यक्ष पुर्खाजीत राई, महासंघका निवर्तमान अध्यक्ष अमृतबहादुर सुनुवार, नेपाल निर्देशक समाजका महासचिव जनकदिप पराजुली, आदिवासी जनजाति महासंघ इटहरी अध्यक्ष चिरहाङ राई, संगीत साधाना इटहरीका महासचिव राजु केसीलगायतको उपस्थिति थियो।
कार्यक्रमलाई इक्सा मादेनले सञ्चालन गरेको हो।