यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजिबिटिक्युआईए+) को कथामा बनेको वेबसिरिज 'बिकमिङ' प्रसारण सुरू भएको छ।
सोमबार यसको पहिलो भाग प्रसारण भएको हो। लुनिभा तुलाधरले निर्देशन गरेको बिकमिङ सेभ द चिल्ड्रेनको आधिकारिक युट्युब च्यानलमा रिलिज भएको हो।
'यसमा एलजिबिटिक्युआईए समुदायका युवाको कथा समेटिएको छ। उनीहरूले आफ्नो पहिचान स्वीकार्न भोग्नुपर्ने सामना गर्नुपर्ने चुनौतीलाई उजागर गरिएको छ,' निर्देशक तुलाधरले भनिन्।
यो सिरिजमा काम गर्ने ६० प्रतिशत व्यक्ति एलजिबिटिक्युआईए समुदायका छन्।
छ महिनाअगाडि सिरिज निर्माण टिमले कलाकार छनोटको लागि आवेदन खुला गरिएको थियो। लुनिभाका अनुसार एलजिबिटिक्युआईए समुदायका ९६ जनाले अडिसन दिएका थिए।
यसरी एलजिबिटिक्युआईए समुदायका कलाकारहरूको मात्र अभिनयका लागि अडिसन मागिएको र दिइएको नेपालमै पहिलोपटक भएको लुनिभाको भनाइ छ।
सन् २००४ देखि एलजिबिटिक्युआईएको हक, अधिकारका लागि कलामार्फत काम गर्दै आएकी लुनिभाले भनिन्, 'लामो समयपछि यसरी कलाकार खुलेर आएका छन्। सुरूमा त म दंग परेँ, खुसी पनि लाग्यो।'
एलजिबिटिक्युआईएकै लागि भनेर आवेदन खुलाइएकाले कलाकारहरू आउन सकेको उनले बताइन्।
यो सिरिज सेभ द चिल्ड्रेन र निल हिरा समाज (ब्लु डायमन्ड सोसाइटी) को बजेटमा निर्माण गरिएको हो। निर्माण संस्थाले १८ वर्षदेखि २३ वर्ष उमेरसम्म कलाकार राख्न भनेको थियो। यो सिरिज यही उमेर समूह लक्षित भएकाले पनि यो नियम राखिएको संस्थाको भनाइ छ।
झन्डै सय जनाले अडिसन दिए पनि सिरिजमा काम गर्न १२ जना मात्र छानिए। उमेर र भूमिकाअुनसार मिल्दो पात्र खोज्दा यति मात्र छान्न सकिएको निर्माण टिमले जनाएको छ।
तर यो उपस्थिति आफैंमा उत्साहजनक भएको लुनिभा बताउँछिन्।
उनका अनुसार काठमाडौंको कौसी थिएटरमा भएको अडिसनमा देशका विभिन्न ठाउँ र सिक्किमदेखि पनि आएका थिए।
हालसम्म एलजिबिटिक्युआईए समुदायको कथामा बनेका नेपाली फिल्म वा सिरिजमा यही समुदायका व्यक्तिले मुख्य भूमिका निर्वाह गरेका छैनन्। फिल्महरूमा यो समुदायका पात्र भए पनि उनीहरूलाई हाँसो र रमाइलोका लागि मात्र प्रयोग गर्दै आइरहेको लुनिभा बताउँछिन्।
उनले आफ्नो उदाहरण दिँदै भनिन्, 'म मोटी छु, मलाई आमा, छुच्ची सासूजस्ता पात्रका लागि मात्र आह्वान गर्न खोज्छन्। सम्मानजनक समावेशी गर्न खोज्दैनन्। यो समुदायको लागि पनि यस्तै छ अवस्था।'
'सिने क्षेत्रमा मात्रै नभएर टेलिशृंखलामा समेत हाँसोको पात्र मात्र बनाइन्छ। के यो समुदाय हाँस्नका लागि, मनोरञ्जनका लागि मात्र हो?' लुभिनाले प्रश्न गरिन्, 'यो समुादायका व्यक्तिले सबै काम गर्न सक्छन्। हामी पनि डाक्टर, अभिनेता, इन्जिनियर हुन सक्छौं।'
उनले एलजिबिटिक्युआईएका लागि नाटक पनि निर्देशन गर्दै आएकी छन्। नाटकमा यो समुदायको पात्र बनेर अभिनय पनि गरेकी छन्।
'बिकमिङ' सिरिजलाई रंगकर्मी आकांक्षा कार्कीले लेखेकी हुन्। सिरिजकी मुख्य पात्र समलिंगी महिला हुन्।
परिवार र समाजले पहिचान स्वीकार गर्न नसक्दा समलिंगी महिलालाई पर्ने समस्याबारे सिरिजमा देखाइएको छ। यो २० भागसम्म बन्नेछ।
सिरिज मैथिली भाषामा पनि प्रस्तुत गरिने सेभ द चिल्ड्रेनका सरोज केसीले बताए। उनका अनुसार यो सिरिज संस्थाको 'सामाजिक परिवर्तनका लागि सञ्चार कार्यक्रम' अन्तर्गत तयार पारिएको हो।
सिरिजले कलामार्फत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबारे जानकारी दिन र सामाजिक दृष्टिकोण परिवर्तन गर्न खोजेको संस्थाकी राष्ट्रिय निर्देशक हेदर क्याम्पबेल बताउँछिन्।
'यो समुदायप्रतिको नकारात्मक सोच र व्यवहार भत्काउन सिरिज बनाएका हौं,' उनले भनिन्, 'यसले समुदायको मुद्दा तथा उनीहरूले सामना गर्नुपरेका चुनौतीबारे कुरा गर्छ। उनीहरूको सशक्तीकरणका लागि आवाज उठाउनेछ।'
वेबसिरिजमा लुनिभा तुलाधरका साथै अमृत दाहाल, अदिति शेर्पा, निर्भिक भट्टराई, युनिस गुरुङ लगायत कलाकारको अभिनय छ।