लोकरक ब्याण्ड नेपथ्यले डार्विनबाट अष्ट्रेलिया सांगीतिक यात्रा सुरू गरेको छ।
डार्विन इन्टरटेनमेन्ट सेन्टरमा आयोजित पहिलो कन्सर्टमा डार्विनमा पढ्न र बसोबास गरिरहेका नेपालीको भिडले खचाखच रहेको नेपथ्यले जनाएको छ।
ब्याण्डको पछिल्लो गीत ‘भटभटे’ सँगै कन्सर्टको सुरू भयो। गीत चलिरहँदा काठमाडौंका सडकमा छायांकन गरिएको म्युजिक भिडिओ पनि प्रदर्शन गरिएको थियो।
त्यसपछि गायक अमृत गुरुङले ‘छेक्यो छेक्यो, भेडाको ऊनजस्तो, लामपाते सुरती, जोमसोमे बजार, शिरफूल शिरैमा’ जस्ता गीत प्रस्तुत गरेका थिए।
यसरी उत्तरको डार्विनबाट सुरू भएको नेपथ्यको अष्ट्रेलिया श्रृंखला अब दक्षिण अष्ट्रेलिया राज्यतर्फ बढ्नेछ। त्यसको राजधानी एडिलेडस्थित ‘हिण्डले स्ट्रीट म्युजिक हल’ मा जनवरी २८ तारिख शनिबार हुनेछ। त्यस हलमा चार वर्षअघि पनि नेपथ्य प्रस्तुत भएको थियो।
त्यसपछि नेपथ्यले ब्रिसबेनको ‘फोर्टिच्यूड म्युजिक हल’ मा माघ १७ गते, क्यानबेरास्थित ‘म्येनिङ क्लार्क हल’ मा माघ २० गते, पर्थस्थित ‘मेट्रो सिटी हल’ मा माघ २२ गते, सिड्नीस्थित ‘होडर्न प्याभेलियन’ मा माघ २७ गते, मेलबर्नस्थित ‘फोरम मेलबर्न हल’ मा फागुन १ गते, होबार्टस्थित ‘ओडियन थिएटर’ मा फागुन ५ गते प्रस्तुति दिनेछ।
‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियानमा नेपथ्यले हालै मात्र एक महिना देशव्यापी यात्रा सम्पन्न गरेको थियो। नेपथ्यले ‘मानवसेवा आश्रम’ सँगको सहकार्यमा सातै प्रदेशका दश सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।
गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका छन्।