धिरज मगर अभिनीत फिल्म 'आइएम ट्वान्टी वान' को नाम परिवर्तन गरिएको छ।
बिहीबार सरस्वती पूजाको अवसर पारेर एक भिडिओ सार्वजनिक गर्दै फिल्मको नयाँ नाम सार्वजनिक गरिएको हो। अब रेनशा राई राणाले निर्देशन गरेको फिल्मको नाम ‘ज्याकी: आइएम ट्वान्टी वान’ रहनेछ।
लक्षित उमेर समूहको मात्र प्रतिनिधित्व गर्ने र प्रमुख चरित्र केन्द्रित नहुने भएकाले शीर्षकमा ‘ज्याकी’ थपिएको निर्देशक रेनशाले बताइन्।
आइकोर फिल्म्स युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडिओमा धिरज ज्याकीको भूमिकामा रहने प्रष्ट पारिएको छ। फिल्ममा धिरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको मुख्य भूमिका छ।
सुसन प्रजापतिको छायांकन रहेको फिल्ममा रोहित शाक्य र कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले निर्माण गरेको फिल्म वैशाख २१ गतेदेखि प्रदर्शन हुने सम्भावना छ। तर निर्माण पक्षले आधिकारिक मिति घोषणा गरेको छैन।
यो रेनशाको दोस्रो निर्देशकीय फिल्म हो। यसअघि उनले ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेकी थिइन्।