कुनै बेला थियो जब कुष्ठरोगको उपचार हुँदैन थियो। यो रोग लागेकालाई छिछि दुरदुर गरिन्थ्यो। समाजको भिडले उसलाई एक्ल्याउँथ्यो।
आज यो कुरा धेरैलाई दन्तेकथा जस्तो लाग्ला। त्यस्तै लाग्न सक्छ कुष्ठरोगको उपचार खोज्ने एउटा डाक्टरको जीवन कथा पनि।
अरूभन्दा तीक्ष्ण बुद्धि भएका यी डाक्टर हुन् दीपंकर रोय। उनी दिनरात मेहनत गर्छन्। वर्षौंसम्म अध्ययन र अनुसन्धानमै डुब्छन्। निजी जीवनका सबै खुसी र सम्बन्धहरू मिल्काएर यस्तो उपलब्धि हासिल गर्छन् जसले समग्र मान्छेको कल्याण गर्थ्यो।
उनले कुष्ठरोग निको पार्ने खोप बनाउँछन्।
यो समाचार रातारात फैलिन्छ। टिभी र सञ्चारमाध्यमहरूमा डाक्टर दीपंकरको बाहेक नामै सुनिन छाड्छ।
उनको यो त्याग र सफलताले धेरै जीवन बच्थे। यो मानव इतिहासकै ठूलो सफलतामध्ये एक थियो।
तर कतिपय अवस्थामा मान्छेलाई धेरैको कल्याणभन्दा आफ्नो कल्याण ठूलो लाग्छ। दीपंकर यस्तै आफ्नो कल्याण खोज्ने स्वार्थी समूहको चंगुलमा फस्छन्।
दीपंकरका सिनियरहरूले नै उनको सफलतामा आरिस गर्छन्। विदेशबाट उनलाई बधाइ र यसबारे चासो आइरहँदा उनका सहकर्मीहरू शंका गर्न थाल्छन्। उनको खुट्टा तान्न थाल्छन्। खिचातानी गर्छन्। एक्लो पार्छन्। दुर्व्यवहार गर्छन्।
यसले दीपंकरलाई दिक्दार बनाउँछ। यहीबीच उनलाई हृदयाघात हुन्छ। तर उनी अस्पताल जान मान्दैनन्। उनकी श्रीमती र केही शुभचिन्तकले भने उनलाई निरन्तर साथ दिइरन्छन्।
दीपंकरमाथि हुने दुर्व्यवहारको सिलसिला रोकिँदैन।
उनले कुष्ठरोगको खोप बनाएकोबारे ब्रिटिस फाउन्डेसनबाट पत्र पनि पठाइएको हुन्छ। तर उनलाई त्यो पत्र नै दिइँदैन। आफ्ना कुरा राख्न खोज्दा बरू उनलाई गाउँमा सरूवा गराइन्छ।
एक डाक्टरको जीन्दगीभरको तपस्यालाई तहसनहस पारिन्छ। यो तहसनहस भएको जीवनमा पनि केही समयपछि फेरि आगो लाग्छ।
त्यसपछि डाक्टर दीपंकरले के गर्छन्? के उनी आफूमाथि भएको अन्यायविरूद्ध लड्लान्? आफूले गरेको कामको श्रेय पाउलान्?
यसका लागि फिल्म 'एक डाक्टर की मौत' हेर्नुहोला।
यो फिल्मले एउटा कुशाग्र बुद्धि भएका डाक्टरको कथामार्फत् कर्मचारीतन्त्रको अँध्यारो पाटो पनि देखाएको छ। भ्रष्ट र आरिसे सहकर्मीले भरिएको कर्मचारीतन्त्रले एउटा इमानदार मान्छेलाई कसरी जमिनमुनि धसाउने प्रयास गर्छ भन्ने फिल्मले देखाउन खोजेको छ।
सबभन्दा महत्वपूर्ण कुरा यो फिल्मको कथा मात्र होइन। यसको कथा रमापद चौधरीको उपन्यास 'अभिमन्यू' मा आधारित छ र यो उपन्यास भारतीय डाक्टर सुवास मुखोपाध्यायको जीवनीमा आधारित छ। वास्तविक जीवनमा सुवास कुष्ठरोगको औषधि बनाउने डाक्टर भने होइनन्। उनले इनभिट्रो फर्टिलाइजेसन (आइभिएफ) अर्थात् टेस्टट्युब बेबीको विधि सुरू गरेका थिए।
भारतीयहरूको दाबी अनुसार त्यही समयमा बेलायतमा डाक्टर रोबर्टको टिम पनि यसमै काम गरिरहेको थियो। पछि यो विधिको सुरूआतकर्ताको उपाधि उनैले पाए। अभिलेखहरूमा डक्टर सुवासको नाम भारतमा टेस्टट्युब बेबीको विधि सुरू गर्ने पहिलो व्यक्तिका रूपमा उल्लेख छ।
लेखक चौधरीले आफ्नो उपन्यास 'अभिमन्यु' मा उनको जीवनका अंश उतारेका छन्। फिल्म 'एक डाक्टर की मौत' मा अभिनेता पंकज कपुरले डाक्टर दीपंकर बनेर डाक्टर सुवासको जीवनको झल्को दिएका छन्।।
पंकज कपुरका साथै फिल्ममा सबाना आज्मी, इरफान खान, दीपा शाही लगायतको पनि अभिनय छ। तपन शिन्हाले निर्देशन गरेको यो फिल्मले समीक्षकहरूबाट निकै प्रशंसा पाएको थियो।
सन् १९९० मा रिलिज भएको यो फिल्मले चार विधामा नेसनल फिल्म अवार्ड जितेको थियो। यसबाहेक बंगाल फिल्म जर्नलिस्ट्स एसोसिएन अवार्डमा दुइटा र एउटा फिल्म फेयर अवार्ड पनि पाएको थियो।
फिल्म रिलिज भएको झन्डै तीन दशकपछि, सन् २०१९ मा द प्रिन्ट नामक अखबारले यसको प्रशंसा गर्दै भनेको थियो, 'जो डाक्टर होइन, उसले डाक्टरहरूलाई दोष दिनुअगाडि एकपटक पंकज कपुरको फिल्म एक डाक्टर की मौत हेर्नुपर्छ।'
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं।