रामबाबु गुरुङ निर्देशित फिल्म 'फूलबारी' को मोफसल यात्रा सुरू भएको छ।
५ सहरमा पुग्ने योजनासहित निर्माण टिम शुक्रबार बुटुवल पुगेका छन्। फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पिभिई नेटवर्कका अनुसार उक्त यात्रा माघ २१ गतेसम्म चल्नेछ।
यो समयावधिमा निर्माण टिम पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन्। टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटालगायत उपस्थित छन्।
शुक्रबार निर्माण टिमले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो। कालीप्रसाद बास्कोटाले कलेजका विद्यार्थीलाई फिल्ममा समावेश गीत ‘माया रहेछ र’ गाएर सुनाएका थिए।
निर्माण टिम आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ।
फिल्मका निर्माता मनिष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ।
‘हामी पब्लिक इभेन्टअन्तर्गत मुख्य बजारको सडक छेउमा दैनिक रुपमा मानिसहरूको भिड हुने स्थानमा कार्यक्रम गर्नेछौं,’ उनले भने।
सामाजिक कथामा अधारित फिल्ममा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनिष ढकाल र शिल्पा मास्केलगायत कलाकारको अभिनय छ। यो फिल्म फागुन ५ गतेदेखि प्रदर्शन हुँदैछ।