भिजुअल इफेक्ट, थ्रिडी एनिमेसन, गेम डेभलपमेन्ट, फिल्म निर्माण, ग्राफिक्स डेभलपमेन्ट र एप डेभलपमेन्टका कक्षाहरू सञ्चालन हुने गरी काठमाडौंको हात्तिसारमा 'इनसेसेन्ट रेन एकेडेमी' सुरू भएको छ।
नेपालबाट हलिउडलगायतका विश्वका ठूला उद्योगका फिल्महरूमा काम गरिरहेको इनसेसेन्ट रेन स्टुडियोका संस्थापक किरणभक्त जोशीले डेभ डटकमका संस्थापक पारस चित्रकार र नेपाली प्राइभेट इक्विटी कम्पनी टिएनए एसोसिएट्ससँगको सहकार्यमा एकेडेमी सुरू गरेका हुन्।
गत सोमबार एकेडेमीको उद्घाटन भएको थियो। उद्घाटन कार्यक्रममा युनेस्को कार्यालय प्रमुख तथा नेपाल प्रतिनिधि माइकल क्रफ्टको उपस्थिति थियो। उद्घाटन भएसँगै पढाइ सुरू भएको हो।
त्यस्तै, बिहीबार नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले एकेडेमीको भ्रमण गरेका थिए। भ्रमणको अवसरमा थम्पसनले नेपालका कलाकारहरूको लागि राम्रो जीवनयापन र अवसर सिर्जना गर्ने बताए।
साथै राजदुत थम्पसनले काठमाडौंको छाउनीस्थित इनसेसेन्ट रेन फिल्म स्टुडियोको समेत भ्रमण गरेका छन्।
एकेडेमीका सञ्चालक किरणभक्त जोशी टेलिभिजन तथा फिल्म निर्देशक, निर्माता र एनिमेसन एवं भिजुअल इफेक्ट विज्ञ हुन्। उनले यस क्षेत्रमा आफ्नो करियर संयुक्त राज्य अमेरिकाको चर्चित हलिउड स्टुडियो ‘वाल्ट डिज्नी स्टुडियो’ बाट सुरुआत गरेका थिए, जहाँ उनले थुप्रै फिल्ममा काम गरेका छन्।