दिपेन्द्र के खनाल निर्देशित फिल्म 'पशुपति प्रसाद' को सिक्वेल ‘पशुपति प्रसाद २: भष्मे डन’ बन्ने भएको छ।
निर्माण कम्पनी टुकी आर्ट्स प्रालिले आइतबार काठमाडौंमा ‘पशुपति प्रसाद’ रिलिजको ७ वर्ष पार गरेको अवसरमा कार्यक्रम गर्दै फिल्मको आधिकारिक निर्माण घोषणा गरेका हुन्। यही अवसरमा निर्माण टिमले प्रदर्शन मिति समेत घोषणा गरेका छन्।
यो फिल्म २०८० सालको दसैं अवसर पारेर फूलपातीमा रिलिज हुनेछ।
अभिनेता खगेन्द्र लामिछानेको लेखन र निर्माण रहने फिल्मको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की रहनेछन्। उनी ‘पशुपति प्रसाद’ को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन्।
‘भष्मे डन’मा विपिनसँगै सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय रहनेछ।
आगामी फागुनको दोस्रो साताबाट छायांकनमा जाने फिल्ममा कृष्ण भारद्वाज र सुवास भुषालको संगीत, कृष्ण थापाको छायांकन, शंकर पाण्डेको प्रोडक्सन डिजाइन, रोहितराज गौतमको मुख्य सहायक निर्देशन, संजोग रसाइलीको सहायक निर्देशन र दिर्घ खड्काको सम्पादन रहनेछ।
‘पशुपति प्रसाद’ व्यावसायिक र समिक्षात्मक रुपमा अब्बल सावित भएको थियो।