चलचित्र विकास बोर्डले दुबईमा आयोजना गर्न लागेको 'नेपाली सिनेमा फेस्ट २०२३' मा 'महापुरुष' प्रदर्शन नहुने भएको छ।
सोमबार निर्माण कम्पनी षट्कोण आर्टले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै फिल्म प्रदर्शन नगर्ने जानकारी दिएको हो।
निर्माण टिमले बोर्डले गर्न लागेको फेस्टिभलमाथि प्रश्न उठाउँदै जानकारी बिना आफ्नो फिल्म समावेश गरेकोमा आपत्ती जनाएको छ।
‘चलचित्र विकास बोर्डले ३० लाख खर्च गरेर विवादास्पद कम्पनी सूर्य कर्पोरेशनसँग मिलेर नेपाली फिल्म र पर्यटनलाई विश्वसामु पुर्याउने नाराका साथ दुबईमा गर्न लागेको नेपाली सिनेमा फेस्ट २०२३ मा हाम्रो फिल्म ‘महापुरुष’ हामीसँग अनुमति नलिई समावेश गरेकोमा हाम्रो ध्यानाकर्षण भएको छ,’ फेसबुकमा लेखिएको छ।
नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउने विकास बोर्डको चाहना स्वागत गर्ने बताउँदै लेखिएको छ, ‘घुमघाम र नाचगान कार्यक्रमले नेपाली फिल्मलाई कसरी सहयोग विश्व बजारमा लैजान्छ होला? यता खर्च गर्ने ३० लाख पैसाले बरु त्यही मिडल इस्टमा व्यवसायिक प्रदर्शन हुने नेपाली फिल्महरूको सेन्सरमा ट्रान्सलेसनमा सहयोग गरे केही राहत होला।'
विवादमा आएको कम्पनीसँग सहकार्य गर्न बोर्डलाई के कुराले बाध्य बनाएको प्रश्न गर्दै आफ्नो फिल्म उक्त कार्यक्रममा सहभागी नगराउन निर्माण टिमले अनुरोध गरेको छ।
फागुन १ गतेदेखि ३ गतेसम्म हुने फिल्म फेस्टिभलमा कबड्डी ४, ऐना झ्यालको पुतली र महापुरुष प्रदर्शन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्म ‘महापुरुष’ मा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, गौरी मल्ल, अन्जना बराइली, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्यलगायत कलाकारकाे अभिनय छ।