नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरीमा नेपालबाट अभिनेत्री प्रियंका कार्की र माया एकेडेमीका इन्द्रलाल बलामी मनोनित भएका छन्।
आयाेजकले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त जानकारी दिएकाे हाे। निफको जुरीमा प्रियंका फिचरतर्फ र इन्द्र छोटा र वृत्तचित्रतर्फ मनोनित भएका हुन्।
माया एनिमेसन एकेडेमी र माया स्टुडियोका संस्थापक निर्देशक इन्द्र फिल्मको प्राविधिक पक्षलाई स्तरीय बनाउन संघर्षरत छन्।
निफको छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ। यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छायाँ सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।