अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म 'ह्रस्व दीर्घ' को छायांकन सुरू भएको छ।
सोमबार पूजा गर्दै भारतको हैदराबादस्थित रामोजी स्टुडियोबाट छायांकन सुरू गरिएकाे हो। अभिनेत्री नीताले फेसबुकमा एक भिडिओ पोस्ट गर्दै उक्त जानकारी दिएकी हुन्।
'लामो समयदेखि ह्रस्व दीर्घको छायांकन कहिले हुन्छ भन्ने प्रश्न आइरहेको थियो। हामीले रामोजी स्टुडियोबाट फिल्मको छायांकन सुरू गरेका छौं। कथाको मागअनुसार हामीले फिल्ममा धेरै कलाकार राखेका छौं। तपाईंहरूले रूचाउनु भएको कलाकार फिल्ममा हुनुहुन्छ। हैदराबादको रामोजी स्टुडियोमा फिल्मको छायांकन गर्न पाउनु हाम्रो लागि ठूलो कुरा हो। आशा छ फिल्मले दर्शकको साथ पाउँछ,' उनले भनिन्।
चन्द्र पन्तको निर्देशन रहने फिल्ममा नीता र हरिहरसँगै सरोज खनाल, विपना थापा भारतीय कलाकारहरू ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत र अलीलगायतको अभिनय रहनेछ। फिल्मलाई भारतीय छायांकार कवीरलालले खिच्नेछन्।
हाँस्य अभिनयबाट चर्चित ब्रह्मानन्दमले संसारमै सबभन्दा धेरै फिल्म खेल्ने जीवित कलाकारका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका छन्। सन् असी दशकको मध्ययता तमिल र तेलुगू भाषामा बनेका प्राय: फिल्ममा उनले आफ्नो उपस्थिति देखाउँदै आएका छन्।
सुनिल आफ्नो फिल्म 'पुष्पा' बाट चर्चामा छन्। यो फिल्मले नेपालमा पनि राम्रो व्यवसाय गरेको थियो। त्यस्तै प्रदीपराजले 'गजिनी' को खलनायक भूमिकाबाट निकै चर्चा कमाएका थिए। अली दक्षिण भारतीय फिल्मका चर्चित हास्य कलाकार हुन्।
यसै फिल्मबाट अभिनेत्री विपना थापा १३ वर्षपछि अभिनयमा कमब्याक गर्दैछिन्।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ।