पछिल्लो समय सर्वाधिक चर्चामा रहेको गीत हो– के लत बस्यो मलाई...।
गायक तिलकसिंह पेलाको सुमधुर स्वर मात्र नभई गीतका शब्द र शास्त्रीय संगीतलाई दर्शक-स्रोताले निकै रूचाए। प्रदीपकुमार मैनालीको शब्द रहेको गीतमा गायक पेलाले संगीत भरेका हुन्।
यस गीतलाई दर्शकको मनमा बस्न योगदान पुर्याउने अर्का व्यक्ति हुन् संगीत संयोजक रिदम कँडेल।
गायकको जति चर्चा संगीत संयोजकको नहोला तर भूमिका उति नै रहन्छ। संगीत संयोजकको चर्चा नहुनुलाई स्वाभाविक मान्छन् रिदम।
'अहिले भर्खर त संगीत संयोजकलाई पनि प्राथमिकता दिन थालिएको छ,' उनले भने।
राम्रो स्वर, राम्रो शब्द, राम्रो संगीत र राम्रो संयोजन मिलेपछि एउटा राम्रो गीत बन्छ। सायद गीतमा सुहाउँदो बाजागाजाको प्रयोग नभएको भए गीत राम्रो बन्ने थिएन।
'के लत बस्यो मलाई' गीतपछि रिदमका फोनको घन्टी धेरै बज्न थालेको छ। 'मेरो गीतमा पनि के लत बस्योको जस्तै संगीत संयोजन गरिदिनु न' भन्ने कुरा सुनेपछि उनी निराश हुन्छन्।
'पछिल्लो समय मानिसहरू एउटै ट्रेन्डलाई समातेर हिँड्न चाहने रहेछन्। जुन गीतले चर्चा पायो, त्यसकै पछाडि लाग्ने! नयाँ सिर्जनाको खोजीमा हिँड्ने मान्छे कम रहेछन्,' उनले भने।
रिदम भने नवीनतामा विश्वास गर्छन्।
चितवनको भरतपुरमा जन्मिएका उनले कलम चलाउन सिक्दै गर्दा हार्माेनियम पनि बजाउन सिकेका हुन्। उनको परिवारका कुनै पनि सदस्य सांगीतिक क्षेत्रमा थिएनन् तर संगीत प्रेमी थिए।
उनका ठूलोबुवाले घरमा हार्मोनियम र तबला ल्याएका थिए। रिदमका दाजुभाइ स्कुलबाट फर्किएपछि खेल्न जान्थे। उनी भने हार्माेनियम र तबला बजाउनतिर लाग्थे। खेल्न-कुद्नभन्दा हार्माेनियम बजाउनै रमाइलो लाग्थ्यो। हार्माेनियम बजाउँदै उनले भजन गाउन सुरू गरे।
अलिपछि आफ्नै घर वरिपरिका भजनकीर्तन गाउनेहरूसँग रिदमले हार्मोनियम सिक्दै गए। कुनै ठाउँमा भजनकीर्तनको कार्यक्रम हुँदैछ भने रिदमले राम्रो गाउँछ भन्दै सिकाउनेहरूले नै सुझाउन थाले। उनी बिस्तारै विभिन्न ठाउँमा पुगेर भजन गाउन थाले। बालखमै उनको सांगीतिक यात्राको बाटो कोरिँदै थियो।
एकदिन उनका काकाले भने, 'रिदमलाई संगीतमा रूचि छ। अझै राम्रो गर्न हामी काठमाडौं जानुपर्छ।
त्यति बेला उनी ४ कक्षामा मात्र पढ्थे।
उनी आफ्नो भविष्य केमा छ भनेर पहिल्याउन सक्ने भएकै थिएनन्। उनका काकाले भनेअनुसारै काठमाडौं आए। जमलको 'डोरेमी' मा संगीत सिक्न थाले। करिब एक वर्ष सिकेपछि उनलाई खेलमा रूचि हुन थाल्यो। उनी कराते टुर्नामेन्टमा समेत सहभागी भएका थिए।
त्यति बेला उनलाई लाग्थ्यो, 'म खेलाडी बन्छु।'
केही समयपछि उनले फेरि संगीतलाई नै निरन्तरता दिने सोच बनाए। उनी श्रीकृष्ण गुरूकुल संगीत पाठशालामा संगीत सिक्न थाले। त्यहीँका गुरु थिए तिलकसिंह पेला।
रिदमलाई संगीतमा लाग्न उनको परिवारले भरपुर सहयोग गरेको थियो। यतिसम्म कि संगीतमा उनको लगाव देखेरै उनका काकाले नाम फेरेर रिदम राखिदिएका हुन्।
एसएलसी पास गरेपछि उनलाई कहिले विज्ञान पढ्छु, त कहिले व्यवस्थापन पढ्छु भन्ने हुन्थ्यो। उनका काकाले संगीत नै पढ्न जोड दिए। आफ्नो रूचिको विषय भएर उनी पनि पढ्न तयार भए। भोटाहिटीको ललितकला क्याम्पसमा भर्ना भए तर संगीत पढेर भविष्यमा के गर्ने भनेर टुंगो थिएन।
एकदिन उनका बुवाले शास्त्रीय संगीत पढाउने 'इन्डियन काउन्सिल फर कल्चर रिलेसन' ले छात्रवृत्तिको विज्ञापन छापेको देखे। घरमा आएर छोरालाई आवेदन दिन भने। रिदमले छात्रवृत्ति पनि पाए। कलकत्तामा शास्त्रीय संगीतमा स्नातकोत्तर सके।
त्यति बेला उनले आफ्नो सांगीतिक यात्रा फराकिलो बनाउन अन्य एकेडेमीमा गएर गितार र पियानो बजाउन सिके। सन् २०१४ मा संगीत पढेर नेपाल फर्किएपछि उनलाई धेरै काम पाइन्छ होला भन्ने लागेको थियो। तर उनले सोचेजस्तो भएन।
'शास्त्रीय संगीतमा स्नातकोत्तर गरेको भन्दै खुब बधाइ खाएँ। काम भने पाइएन,' उनले भने।
कतै काम पाइन्छ कि भनेर उनी आफ्ना साथीहरूको गीत रेकर्डिङमा धाउँथे। करिब एक वर्षभन्दा बढी समय त धाएरै बिताए। तैपनि काम नपाएपछि रिदम आफैं गीत निकाल्न कस्सिए। उनले गीत गाए। त्यो बेला उनलाई संगीत संयोजन आउँथेन। अरूलाई नै संयोजन गर्न दिए।
'गीत अरूलाई संगीत संयोजन गर्न दिँदा बिग्रियो। चित्त बुझेन,' रिदमले भने।
यसपछि उनी आफैं संगीत संयोजन गर्न तम्सिए। यसका लागि स्टुडियो चाहिन्थ्यो जुन उनीसँग थिएन। यसले उनलाई रोकेन। उनले कम्प्युटर र आधारभूत सामान ल्याएर सानो ठाउँ बनाए। अनि इन्टरनेटमा हेर्दै संगीत संयोजन सिके। उनल आफ्नो यो स्टुडियोको नाम 'नाद' राखेका छन्। अहिलेसम्म दर्ता भने भएको छैन।
संगीत संयोजन सिकेपछि पनि रिदमले काम पाएनन्।
'आफ्ना चिनजानका साथीभाइलाई कसैले गीत निकाल्दै छ भने रिदमले संगीत संयोजन गर्छ भन्दिनु भन्दै अनुरोध गरेँ,' उनले भने।
यसैगरी रिदमको नाम एक कान, दुई कानसम्म पुग्यो। उनले केही गीत पाउन थाले।
सन् २०१५ मा फिल्म 'तिमीसँग' का गीतहरूमा संगीत संयोजन गर्ने अवसर पाए। यो अवसर उनका साथी प्रमोद प्रसाईंले जुराइदिएका थिए। एक स्टुडियोले संगीत संयोजक खोजिरहेको थाहा पाएपछि प्रमोदले रिदमको नाम सुझाएका थिए।
'यो फिल्म चलेन तर फिल्मको 'लडेँ लडेँ समाऊ मलाई' बोलको गीतले चर्चा पायो। मलाई अरू संगीतकारले पनि अवसर दिन थाल्नुभयो,' उनले भने।
यसपछि उनले शिव परियारको 'आँसुको अर्थ' गीतमा संगीत संयोजन गरे।
काम पूरा भएपछि शिवले भनेका कुरा रिदम सम्झिन्छन्, 'तिमीले राम्रो काम गर्यौ। पछि पनि हामी सँगै काम गर्नुपर्छ।'
त्यो कुराकानीजस्तै रिदम र शिवले थुप्रै गीतमा सहकार्य गरिसके।
रिदमले फिल्म 'म यस्तो गीत गाउँछु २' को 'तिम्रो घरको वरिपरि' बोलको गीतमा पनि संगीत संयोजन गरेका छन्। उक्त गीतमा अर्जुन पोखरेलले संगीत भरेका थिए। यो गीत हिट भइरहेको थियो।
अनि उनलाई लाग्यो- आफ्नै बलबुतामा गर्दा त यत्तिको हुन्छ भने यो कला राम्ररी सिकेर, अझै अभ्यास गरेर अघि बढाए अझै राम्रो हुन्छ होला।
यही सोचले सन् २०१९ को अन्त्यतिर उनी भारत हानिए। त्यो बेला उनको रनाहा थियो- चर्चित संगीतकार एआर रहमानसँग संगीत सिक्ने।
त्यो हुटहुटी बोकेर उनी रहमानको स्टुडियो पुगे। बन्द थियो। कोरोना भाइरस फैलिँदै थियो। त्यसले उनको संगीत सिक्ने सपनालाई पनि लपेटिदियो।
रहमानको स्टुडियो बाहिर एउटा फोटो खिचेर उनी नेपाल फर्किए।
'मलाई अझै उहाँसँग संगीत सिक्न मन छ। कुनै दिन जुरेछ भने पक्कै जान्छु,' उनले भने।
कोरोनाका बेला सबै ठप्प थियो। समय बिताउन उनले आफ्नै स्वरमा गीत गाएर युट्युबमा हाल्न थाले। रिदम कँडेल युट्युब च्यानलमा उनले आफूलाई मनपरेका गीत गुनगुनाएर राखेका छन्।
त्यसपछि उनले कवि नवराज पराजुलीको 'एक्लै' सांगीतिक कविताको संगीत संयोजन गरे। त्यसमा उनको कामको प्रशंसा पनि भयो। पछिल्लो समय नवराजका कविताहरूमा संगीत संयोजनको काम रिदमले नै गर्दै आएका छन्।
'एक्लै' सार्वजनिक भएपछि फिल्म 'महापुरूष' टिमले नवराजलाई 'बा' सम्बन्धी गीत तयार पार्न आग्रह गरे।
'नवराज र म मिलेर 'बा' बोलको गीत तयार पार्यौं,' रिदमले भने।
यो गीत कसले गाउने भनेर तय भएको थिएन। निर्माण टिमलाई सुनाउन रिदमले आफ्नै स्वरमा राखेका थिए। गीत सुनेपछि निर्माण टिमले उनकै स्वर मनपराए।
'ठूलो ब्यानरको फिल्ममा चलेको गायकको स्वर राख्ने होला भनेर सोचेको थिएँ। तर मलाई नै गाउनु भनेपछि अचम्म परेँ,' उनले भने।
योसँगै उनले 'प्रेमगञ्ज' फिल्मका लागि गीत गाए। सरोज पौडेलका दुइटा फिल्मको जिम्मा पनि पाएका छन्।
बालखदेखि हार्मोनियम समाएर संगीतका राग महसुस गर्दै आएका रिदमले यो यात्रामा ५० भन्दा बढी गीतको संगीत संयोजन गरिसके।
भन्छन्, 'आज फर्किएर हेर्दा रमाइलो लाग्छ। मैले गाएको गीतमा राम्रो संगीत संयोजन गरिएको थियो भने म आफैं संगीत संयोजक बन्दिनँ थिएँ होला। जीवनमा जे हुन्छ त्यो राम्रोका लागि हुन्छ भन्ने लाग्छ।'