लोक-रक ब्याण्ड नेपथ्यले अष्ट्रेलियाको पर्थमा सांगीतिक प्रस्तुति दिएको छ।
आइतबार पर्थस्थित ‘मेट्रो सिटी हल’ मा नेपथ्यले दोस्रो पटक सांगीतिक प्रस्तुति दिएको हो। यसअघि सन् २०१७ मा नेपथ्यले पर्थ सांगीतिक प्रस्तुति दिएको थियो।
‘आँगनै भरि हिउँ नै झरे’ बोलको गीतबाट सांगीतिक प्रस्तुति सुरू गरिएको थियो। गायक अमृत गुरुङ स्टेज चढेसँगै दर्शक उत्साहित रहेको नेपथ्यले जनाएको छ।
त्यसपछि गायक गुरुङले ‘छेक्यो छेक्यो, भेडाको ऊनजस्तो, लामपाते सुरती, जोमसोमे बजार, शिरफूल शिरैमा’ जस्ता गीत प्रस्तुत गरेका थिए।
नेपथ्यले सिड्नीस्थित ‘होडर्न प्याभेलियन’ मा माघ २७ गते, मेलबर्नस्थित ‘फोरम मेलबर्न हल’ मा फागुन १ गते, होबार्टस्थित ‘ओडियन थिएटर’ मा फागुन ५ गते प्रस्तुति दिनेछ।
‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियानमा नेपथ्यले हालै मात्र एक महिना देशव्यापी यात्रा सम्पन्न गरेको थियो। नेपथ्यले ‘मानवसेवा आश्रम’ सँगको सहकार्यमा सातै प्रदेशका दश सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।
गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका छन्।
सबै तस्बिर: चावो ज्हाउ