सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फिल्मका लेखक-निर्देशकलाई प्रश्न गरेकी छन्।
मंगलबार मन्त्री शर्माले विदेशी फिल्म महिनौं चल्ने तर नेपाली फिल्म एक दिन नचल्ने अवस्था किन छ भनेर प्रश्न गरेकी हुन्।
चलचित्र निर्देशक समाजले युएनडिपीसँग मिलेर गर्न लागेको ‘कोडिङ क्लाइमेट चेन्ज इन्टु फिल्म्स’ शीर्षकको दुई दिने सेमिनारको उद्घाटन गर्दै उनले विदेशी फिल्म चल्ने र नेपाली फिल्म नचल्ने कारण पहिल्याउन जरुरी रहेको धारणा राखेकी थिइन्।
‘मैले फिल्म उति सारो बुझेको छैन तर प्रशस्त हेरेकी छु। अरूका फिल्म चल्ने तर हाम्रा फिल्म नचल्ने अवस्था छ। नेपाली फिल्म चलाउन चलचित्र विकास बोर्डले के गर्न पर्ने हो र मन्त्रालयले के गर्न पर्ने हो? छलफल गरौं। तर यो अवस्थाको अन्त्य हुन जरूरी छ,’ उनले भनिन्।
उनले नेपाली फिल्मको संख्याभन्दा गुणस्तर बढाउने गरी काम गर्नुपर्ने बताइन्। ‘समाज तथा राजनीतिक परिवर्तनका लागि पनि नेपालमा गीत संगीत र फिल्मको ठूलो योगदान छ,’ उनले भनिन्।
सञ्चारमन्त्री शर्माले कुनै समय आफू पनि भारतीय फिल्म बन्द गर्ने मोर्चामा सहभागी भएको स्मरण गर्दै अहिले अरूलाई निषेध गर्नेभन्दा पनि प्रतिस्पर्धा गरेर जान पर्ने बताइन्।
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा मंगलबारदेखि सुरू भएको सेमिनारमा पहिलो दिन सहभागी लेखक तथा निर्देशकले जलवायु परिवर्तन र यसका असरका सम्बन्धमा जानकारी हासिल गरेका थिए।
पहिलो दिन युएनडिपीका प्रतिनिधि दीपक केसीले विश्वमा जलवायु परिवर्तनको अवस्था र नेपालमा यसले पारिरहेको असरका बारेमा प्रस्तुति दिएका थिए।
निर्देशक समाजका महासचिव जनकदीप पराजुलीले बुधबार अघिल्लो दिन छलफलमा आएका मुद्दालाई फिल्मका कथा तथा प्रस्तुुतिमा समेटेका थिए।
सेमिनारमा नीर शाहलगायत तीन दर्जन लेखक तथा निर्देशकको सहभागिता रहेको छ।