अभिनेता नीर शाहले चलचित्र विकास बोर्डको सल्लाहकार समितिको संयोजक पदबाट राजीनामा दिएका छन्।
उनीसँगै रवीन्द्र खड्का, दीपाश्री निरौला, सुशान्तकुमार श्रेष्ठ र आकाश अधिकारीले पनि राजीनामा दिइसकेका छन्।
बोर्डका अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए। बोर्डका विवादस्पद गतिविधिप्रति चित्त नबुझेको भन्दै उनीहरूले राजीनामा दिएका हुन्।
'पछिल्लो समय बोर्डमा सल्लाहकार समितिको कुनै कुरामा संलग्नता देखिएन। मलाई सल्लाहकार समितिमा केशव भट्टराईले राख्नु भएको थियो। त्यसलाई नै पुन: गठन गरेर भुवन केसीले राख्नु भएको थियो। हामीले केही महिना हेर्याैं,' उनले भने।
अभिनेता शाहले सल्लाहकार समितिबाट बाहिरिनुको कारण बताउँदै भने, 'फिल्मको छायांकनमा व्यस्त भएपछि सक्रिय भएर समिति हेर्न पाइएन। एउटा साधारण कारणले छाडेको हुँ, त्यस्तो खास कारण केही होइन।'