नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरीमा भारतीय फिल्म लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार र बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान मनोनित भएका छन्।
आयोजकले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। निफको जुरीमा मजुमदार फिचरतर्फ र रान छोटा र वृत्तचित्रतर्फ मनोनित भएका हुन्।
प्रेमेन्द्र भारतीय फिल्म जगतमा पुनर्जागरण ल्याउने व्यक्ति मानिन्छन्। फिल्म समालोचना, लेखन, क्युरेटिङ तथा परामर्शका क्षेत्रहरूमा उनले आफूलाई विश्वव्यापी फिल्म समुदायको आवाजको रूपमा स्थापित गरेका छन्।
त्यसैगरी ‘इन्टरनेशनल स्कुल अफ बेइजिङ फिल्म एकेडेमी’ की डिन लि रान फिल्म मार्केटिङ र वितरण पक्षको ज्ञाता मानिन्छिन्। उनी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको आयोजना र क्युरेटिङमा निकै अनुभव बटुलेकी छन्।
यसअघि नेपालबाट निफको जुरीमा फिचर फिल्मतर्फ अभिनेत्री प्रियंका कार्की र छोटा तथा वृत्तचित्रतर्फ माया एकेडेमीका इन्द्रलाल बलामीलाई मनोनित गरिएको छ।
निफको छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ। यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।