माघ २० गतेदेखि प्रदर्शनमा आएको फिल्म 'ह्यारीकी प्यारी' ले दोस्रो साताको शनिबार दर्शकको साथ पाएको छ।
वर्ड अफ माउथको सकारात्मक प्रभावले दोस्रो शनिबार दर्शकको साथ पाएको फिल्मका अभिनेता जितु नेपालले बताए।
उनका अनुसार लबिम मल, वान सिनेमाज, भक्तपुर क्युएफएक्स, केएल टावरलगायतका हलले हाउसफुल व्यापार गरेका छन्। अन्य हलमा पनि दर्शकको राम्रो उपस्थित थियो।
‘सामाजिक सञ्जालमा विभिन्न टिप्पणी आएपनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। शनिबार अधिकांश हलले हाउसफुलको व्यापार गरेको छ। विशेष गरी परिवारसहित फिल्म हेर्नेको संख्या धेरै छ,’ उनले भने।
शनिबार जितुसहित साम्राज्ञी आरएल शाह, विजय बराल र निर्देशक कपिल रिजालले लबिम मल, भक्तपुर क्युएफएक्स र वान सिनेमाजमा पुगेर दर्शककाे प्रतिक्रिया लिएका थिए।
दोस्रो शुक्रबारसम्म फिल्मले ८५ लाख ग्रस कलेक्सन गरिसकेको निर्माण पक्षले जानकारी दिए।
कपिल रिजालले निर्देशन गरेको फिल्ममा जितु, साम्राज्ञी र विजयसँगै लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारीलगायत कलाकारको अभिनय छ। फिल्ममा अभिनेत्री रेखा थापाको विशेष भूमिकामा प्रस्तुत छिन्।
बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण फिल्मको कथा निर्देशक रिजाल आफैले तयार पारेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।