लोक-रक ब्याण्ड नेपथ्यले सिड्नीमा सांगीतिक प्रस्तुति दिएको छ।
नेपथ्यले शुक्रबार सिड्नीस्थित ‘होडर्न प्याभेलियन’ मा सांगीतिक प्रस्तुति दिएको हो। कन्सर्टमा ५ हजारभन्दा बढी दर्शक सहभागी रहेको नेपथ्यले जनाएको छ।
नेपथ्यले सिड्नीमा छैटौं पटक सफलताका साथ कन्सर्ट सम्पन्न गरेको छ। यसअघि नेपथ्यले सन् २००९ मा आफूलाई पहिलोपटक प्रस्तुत गरेको थियो। त्यतिबेला एक विश्वविद्यालयको हलमा १२ सय दर्शक मात्र उपस्थित थिए। सिड्नीमा छैटौं पटक कन्सर्ट गर्दा नेपथ्यले पाँच हजारभन्दा बढी दर्शकको साथ पाएको छ।
‘विश्वभर यसरी नेपाली समुदायको उपस्थिती बाक्लिँदै गइरहेकोमा खुशी लाग्छ तर स्वदेशमा अवसरको अभाव भएकाले यसरी नेपालीहरू बाहिरिन बाध्य भएको सत्य आत्मसात गर्नुपर्दा तितो लाग्दो रहेछ,’ गायक अमृत गुरुङले भने।
गायक गुरुङले ‘आँगनै भरि हिउँ नै झरे, छेक्यो छेक्यो, भेडाको ऊनजस्तो, लामपाते सुरती, जोमसोमे बजार, शिरफूल शिरैमा’ जस्ता गीत प्रस्तुत गरेका थिए।
यसपछि नेपथ्यले मेलबर्नस्थित ‘फोरम मेलबर्न हल’ मा फागुन १ गते र होबार्टस्थित ‘ओडियन थिएटर’ मा फागुन ५ गते प्रस्तुति दिनेछ।
‘मानवताका लागि संगीत’ नामको सांगीतिक अभियानमा नेपथ्यले हालै मात्र एक महिना देशव्यापी यात्रा सम्पन्न गरेको थियो। नेपथ्यले ‘मानवसेवा आश्रम’ सँगको सहकार्यमा सातै प्रदेशका दश सहरमा कार्यक्रम प्रस्तुत गरेको थियो।
गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका छन्।
तस्बिरहरू: सुधिरा शाह र श्री पराजुली