अभिनेता राजबल्लभ कोइराला एक दशकपछि फिल्ममा कमब्याक गर्दैछन्। उनले दीपक वलीको निर्देशन रहने फिल्म 'कामिनो' बाट कमब्याक गर्न लागेका हुन्।
उनी पछिल्लो समय सन् २०१३ मा प्रदर्शन भएको फिल्म 'ऋतु' मा देखिएका थिए। उनी अमेरिका गएपछि फिल्म क्षेत्रबाट टाढिएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत फिल्ममा अनुबन्ध भएको जानकारी दिँदै लेखेका छन्-
'दाइ नेपाली फिल्ममा फेरि कहिले आउनु हुन्छ?
यो वर्ष कामिनोसँगै।'
निर्माण टिमका अनुसार उनी नेपाल आउने छैनन्। उनको दृश्य अमेरिकामै छायांकन गरिनेछ।
'कामिनो' मा राजसँगै प्रदीप खड्का र वर्षा सिवाकोटीको मुख्य भूमिका रहनेछ। फिल्मको कथा महेश दवाडीले तयार पारेका हुन्।
एक्सेस नेपाल फिल्म्स ब्यानरबाट निर्माण हुने फिल्मलाई सौरभ लामाले छायांकन गर्नेछन्।
यो फिल्म नेपालीसँगै हिन्दी, अंग्रेजी र स्पेनिस भाषामा प्रदर्शन हुनेछ।
‘पर्खि बसे’ बाट डेब्यू गरेका राजले ‘छोडी गए पाप लाग्ला’, ‘स्वर’, ‘मसान’, ‘अपवाद’, ‘छ एकान छ’, ‘सम्झना’, ‘हाँसीदेउ एकफेर’, ‘कसम हजुरको’, ‘किन लाग्छ माया’ लगायत फिल्ममा अभिनय गरेका छन्।