अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको फिल्म 'हल्कारा' वैशाख २९ गतेदेखि हलमा प्रदर्शन हुने भएको छ।
विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ।
‘फिल्मले गाउँमा चिठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ। फिल्म सत्यकथा प्रेरित छ तर कथालाई सकेसम्म मनोरञ्जनात्मक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ,’ निर्देशक सापकोटाले भने।
कालीपार स्टुडियाे र आइसफल प्रोडक्सनबाट निर्मित फिल्ममा महेशले हुलाकीको भूमिका निर्वाह गरेका छन् भने बिनिता मियाको भूमिकामा देखिएकी छन्।
फिल्ममा महेश र बिनितासँगै उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्कीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक सापकोटासँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर तयार पारेका हुन्।
चिन्तन राजभण्डारीले छायांकन गरेको फिल्मलाई निर्देशक सापकोटाले सम्पादन गरेका छन्।
‘हल्कारा’ अमेरिकाको वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए।
यसैगरी फिल्म नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने अन्य फेस्टिभलमा पनि छनौट भएको थियो।