प्रणय दिवसको अवसरमा कवि तथा गीतकार बसन्त चौधरीको एकल कविता वाचन ‘कवितासँग बसन्त’ सम्पन्न भएको छ।
स्वास्थ्य समस्या लगायतका कारण झन्डै साढे तीन वर्षको निस्क्रिय जीवनपछि पुनः सक्रिय बनेका चौधरीले विभिन्न २० देशमा प्रस्तुत गरेका 'विश्व काव्ययात्रा' कै शैलीमा यसपटकको प्रणय दिवसलाई विशेष बनाए।
‘लभ इज इन दि इयर’ को थिम दिइएको एकल कविता वाचन कार्यक्रमका क्रममा चौधरीले एक दर्जनभन्दा धेरै कविता, मुक्तक र गजल सुनाए। सबै रचना प्रेम, प्रेमिका र प्रेमिल सम्बन्ध लगायतसँग सम्बन्धित थिए।
चौधरीका कविता मान्छेका सुखदुःख, हाँस्य एवम् प्रेमानूभूतिसँग सम्बन्धित हुन्छन्। चौधरीले आफू कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसारको रचना गर्न चाहेको बताए।
‘आँसु, हासो, सुखदुःख जस्ता भावनात्मक रहरबाट नै कविता जन्मिन्छ। म चाहन्छु, मेरो कविता नदीको शितल प्रवाहसरी शान्त होस्। पहराबाट छुटेको छहरासरी गतिमय पनि,’ उनले भने, ‘जब मेरा भावनाहरूले शब्द उच्चारण गर्छन्, वास्तवमा मलाई सुखको अनुभूति हुन्छ। साँच्चै भन्ने हो भने कविताको माध्यमले एउटा छुट्टै प्रेममय संसार रचना गर्न चाहन्छु।’
उनले आफूले सुरू गरी हाल रोकिएको विश्व काव्ययात्रा पुनः सुरू गर्ने समेत बताए।
चौधरीलाई सुन्न मण्डला थिएटर पुगेका करिब डेढ सय जनाले उनका दुइटा पुस्तक ‘मेरा गीत’ (गीत संग्रह) तथा ‘जीवनमन्त्र–२’ (सुक्ति संग्रह) को सामूहिक लोकार्पण समेत गरे।
नेपाली भाषाका साथै हिन्दी भाषामा समेत कवि चौधरीले सिर्जनाहरू सार्वजनिक गरिसकेका छन्। केही समयअघि उनका ८५ वटा कविताको संग्रह ‘तिमीबिनाको म’ सार्वजनिक भएको थियो। यसमा संग्रहित अधिकांश रचना प्रेमसँग सम्बन्धित छन्। त्यसअघि हिन्दी काव्य संग्रह ‘अनेक पल और मैं’ सार्वजनिक भएको थियो। ‘मेघा’ देखि ‘तिमीबिनाको म’ सम्म उनका एक दर्जन कृति प्रकाशित छन्।