रामजी ज्ञवालीले निर्देशन गरेको छोटो फिल्म 'आराध्या' सार्वजनिक भएको छ।
ज्ञवालीले यसअघि ‘हनिमुन, डार्क मुन, एक लभर’ लगायत झण्डै दर्जन छोटो फिल्म र केही म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।
मंगलबार सार्वजनिक भएको ‘आराध्या’ व्यस्त परिवारभित्र हुर्किरहेका बच्चाले बाबुआमाबाट पर्याप्त रेखदेख नपाउँदा उत्पन्न हुने मनोभावलाई देखाइएको छ।
अभिभावकहरू पेसा व्यवसायमा संलग्न भएको हरेक सहरीया परिवारको कथा फिल्मले देखाएको र उनीहरूलाई सोच्न बाध्य पारेको निर्देशक ज्ञवालीले बताए।
फिल्मको कथा निर्देशक ज्ञवाली र आर्यन अधिकारीले लेखेका हुन्।
राम्रो इन्टरटेनमेन्ट ब्यानरको फिल्ममा अभिनेता आमिर गौतमले बुवाको र अभिनेत्री सुरविना कार्कीले आमाको भूमिका निवार्ह गरेकी छन् भने द्रोस्टी शाहले छोरीको भूमिका निवार्ह गरेकी छन्।
फिल्ममा आमिर, सुरविना र द्रोस्टीसँगै नारायण कँडेल, प्रान्जल पौडेल, सृष्टि भुषाल, सफु बुढाथोकीलगायत कलाकारको अभिनय छ।
काठमाडौं आसपासमा खिचिएको यो फिल्म केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत देखाइएको थियो। सञ्जितकुमार शाहको लगानी रहेको फिल्ममा विशाल निरौलाको संगीत तथा संगीत संयोजन छ।
फिल्मका प्रमुख सहायक निर्देशक बाबुराम निरौला हुन् भने युवराज घिमिरेले सहायक निर्देशकको जिम्मेवारी सम्हालेका छन्। संकल्प भुजेलले छायांकन गरेको फिल्मलाई नहकुल खड्काले सम्पादन गरेका हुन्।