नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को जुरी चयन सम्पन्न भएको छ।
फिचर फिल्मतर्फ अमेरिकाका जेफ मोनाहान र छोटा तथा वृत्तचित्रतर्फ इतामी बोर्जन मनोनित भएसँगै जुरी चयन सम्पन्न भएको हो।
यसअघि फिचर फिल्मतर्फ प्रमुखमा भारतीय फिल्मका प्रसिद्ध समीक्षक प्रेमेन्द्र मजुमदार र सदस्यमा अभिनेत्री प्रियंका कार्की मनोनित भइसकेका छन्।
जेफ मोनाहान अभिनेता, लेखक तथा निर्माता हुन्। उनका धेरै सृजनाहरू विश्व प्रसिद्ध छन्।
इतामी बार्जन फिल्म विशेषज्ञ तथा शिक्षाविद् हुन्। क्रोएसियाको जाग्रेब विश्वविद्यालयमा उनले एथनोग्राफिक, डकुमेन्ट्री, विश्व सिनेमाको इतिहास र सिद्धान्त पढाउँदै आएकी छन्।
यसअघि छोटा तथा वृतचित्रतर्फ प्रमुखमा बेइजिङ फिल्म एकेडेमीकी डिन ली रान र सदस्यमा माया एकेडेमीका इन्द्र लाल बलामी मनोनित भइसकेका छन्।
निफको छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ। यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।