शुक्रबार नेपाली हलहरूमा एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्।
नेपाली फिल्मतर्फ ‘फूलबारी’ प्रदर्शनमा आएको छ भने विदेशी फिल्मतर्फ बलिउड फिल्म 'शेहजादा' र हलिउड फिल्म 'एन्ट-म्यान एण्ड द वास्प: क्वान्टुमेनिया' प्रदर्शनमा आएका हुन्।
रामबाबु गुरुङ निर्देशित फिल्म ‘फूलबारी’ मा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, गौमाया गुरुङ, प्रियंका कार्की, सोमनाथ खनाल, शिल्पा मास्के, अनुपम शर्मा, मनिष ढकाल, लोकेन्द्र लेखक साक्षी सिंह भण्डारीलगायत कलाकारको अभिनय छ।
अभिभावक र सन्तानबीचको सम्बन्धको कथा भन्ने फिल्ममा उपेन्द्र सुब्बाको पटकथा र कमल किशोर मलपानीको कथा छ। जोश हेरुमले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन्।
यसोदा फिल्म्सको ब्यानरमा निर्माण फिल्ममा मनिष ढकालको लगानी छ।
रोहित धवन निर्देशित फिल्म ‘शेहजादा’ मा कार्तिक आर्यन, कृति सेनन, मनिषा कोइराला, परेश रावल, रोनित रोय, सचिन खेडेकरलगायत कलाकारको अभिनय छ। फिल्मको कथा त्रिविक्रम श्रीनिभासले तयार पारेका हुन्।
भुषण कुमार, कृष्ण कुमार, एस राधा कृष्ण र अमन गिलको लगानी रहेको फिल्ममा दुई बच्चा जन्मँदै साटिएको र धनी परिवारको बच्चा गरिब परिवारमा साटिँदा आउने उतारचढावलाई देखाइएको छ।
यो फिल्म अल्लु अर्जुन र पूजा हेगडे अभिनीत फिल्म ‘अला बैकुण्ठपुरमलो’ को हिन्दी रिमेक हो। ‘अला वैकुन्ठपुरमेलो’ बक्स अफिसमा हिट सावित भएको थियो।
पेटन रीडले निर्देशन गरेको हलिउड फिल्म ‘एन्ट-म्यान’ मार्भल स्टुडियोको फिल्म हो। फिल्ममा पल रुड र इवांगेलिन लिली, जोनाथन मेजर्सको मुख्य भूमिका छ।