नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनित भएकी छन्।
अभिनेत्री श्रेष्ठको फिल्म छनोट क्षमता राम्रो भएकाले निफको सल्लाहकारमा मनोनित गरेको विज्ञप्तीमा उल्लेख छ। उनी डेढ दशकदेखि नेपाली फिल्ममा आवद्ध छिन्।
निफको प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह छन् भने अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा छन्।
निफको छैटौं संस्करण आगामी चैत २ गतेदेखि ६ गतेसम्म हुनेछ। यस पटक महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिने छ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरूको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।