रेनशा राई रानाको निर्देशनमा तयार भएको फिल्म 'ज्याकी: आई एम ट्वान्टी वान' को पोस्टर सार्वजनिक भएको छ।
शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका अभिनेता धिरज मगरलाई मात्र प्रस्तुत गरिएको छ। पोस्टरमा उनको दोहोरो अवतार देख्न सकिन्छ।
एकै पाेस्टरमा उनी लाहुरे र डान्सरकाे अवतारमा देखिएका छन्। पोस्टरले फिल्ममा कतै धिरजको दोहोरो भूमिका त होइन भन्ने प्रश्न उब्जाएको छ तर निर्माण टिमले यसबारे खुलासा गरेका छैनन्।
प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माणमा तयार भएको फिल्ममा धिरजसँगै जसिता गुरुङ र अरुण क्षेत्रीको पनि मुख्य भूमिका छ।
आईकोर फिल्म्स ब्यानरमा निर्माण भएको फिल्ममा रोहित शाक्य र कालिप्रसाद बाँस्कोटाको संगीत, सुशन प्रजापतिको छायांकन, द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ।
यो फिल्म वैशाख २१ गतेदेखि प्रदर्शन हुँदैछ।
रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।