आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म 'छक्का पन्जा ४', '२.० छड्के' र हलिउड फिल्म 'क्रिड ३' का लागि टिकट बुकिङ खुला गरिएको छ।
नेपालको ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्समा 'छक्का पन्जा ४' ले ५६ शो पाएको छ भने '२.० छड्के' ले ३९ शो पाएको छ। यसैदिन प्रदर्शन हुने हलिउड फिल्म 'क्रिड ३' ले ११ शो पाएको छ।
बिग मुभिजमा छक्का पन्जाले सात शो, छड्केले पाँच शो र क्रिडले एक शो पाएको छ। एफक्युबमा छक्का पन्जाले छ शो, छड्केले पाँच शो र क्रिडले एक शो पाएको छ।
वान सिनेमाजमा छक्का पन्जाले १० शो, छड्केले नौ शो र क्रिडले दुई शो पाएको छ।
अन्य मल्टिप्लेक्स हलमा पनि 'छड्के' भन्दा 'छक्का पन्जा ४' ले बढी शो पाएको छ। फागुन १९ गतेलाई नेपाली फिल्मको महाभिडन्तको रूपमा हेरिएको छ।
दीपक र दीपाको फिल्म 'छक्का पन्जा' सिरिज बक्स अफिसमा धेरै कमाइ गर्ने फिल्म हो। यसैवर्ष 'छक्का पन्जा ३' को रेकर्ड तोड्दै 'कबड्डी ४' धेरै कमाइ गर्ने नेपाली फिल्म बनेको छ। दीपकलाई फिल्मले राम्राे कमाइ गर्नपर्ने चुनाैती देखिन्छ।
अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्। 'होस्टल' बाट डेब्यू गरेका उनले अहिलेसम्म एक फ्लप फिल्म दिएका छैनन्। अनमाेलकै कारण याे फिल्म चल्ने फिल्मकर्मीकाे आशा छ।
दुवै फिल्मको प्रचार सामाग्री युट्युबमा सार्वजनिक भएको छ। युट्युबको भ्युजलाई आधार मान्ने हो भने दुवै फिल्मको हाइप राम्रो छैन। हलमा कुन फिल्मले राम्रो कमाइ गर्छ त्यसको लागि फागुन १९ गते कुर्नुपर्छ।
हेमराज विसीले निर्देशन गरेको फिल्म 'छक्का पन्जा ४' मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ। फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन्।
निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्म '२.० छड्के' मा अनमोलसँगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, रेशा आले मगर, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय छ।