इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’ को फिल्ड अहिले नेपालको विभिन्न सहरहरूमा भइरहेको छ।
यसै क्रममा दमक अडिसन यही फागुन २० र २१ गते इँटाभट्टास्थित श्री सरस्वती मध्यमिक विद्यालयमा र काठमाडौं अडिसन फागुन २७ र २८ गते ग्यानेश्वरस्थित ग्यालेक्सि पब्लिक स्कुलमा हुँदैछ।
अडिसन दिन आउँदा प्रतियोगीले आफ्नो उमेर खुल्ने परिचय पत्र लिएर आउनु पर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगी काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्। साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्ने छन्।
डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीले पनि अनिवार्य रूपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यसबाहेक मेरो डान्स युनिभर्सको संस्कृतिक समूह विधामा सहभागी हुन चाहनेले पनि एपमार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ। सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ।
मेरो भ्वाइस युनिभर्सको निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायक छन्।
साथै मेरो डान्स युनिभर्सको निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की र नरमन राई हुने जनाइएको छ।
यी दुई शो नेपालकै सर्वाधिक धेरै धनराशी पुरस्कार भएका रियालिटी शो हुन्।
फाउन्डेसनका अनुसार मेरो भ्वाइस युनिभर्सका विजेताले एक करोड रूपैयाँ पुरस्कार पाउने छन्।
फस्ट रनरअपले ३० लाख रूपैयाँ र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पाउने छन्।
यस्तै मेरो डान्स युनिभर्सका विजेताले पनि एक करोड रूपैयाँ पुरस्कार पाउने छन् भने फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख रूपैयाँ पाउने छन्।
डान्स युनिभर्सको सांस्कृतिक समूह विधाको विजेताले २० लाख रूपैयाँ पुरस्कार पाउने छन्। साथै फस्ट रनरअपले १० लाख र सेकेन्ड रनरअपले ५ लाख रूपैयाँ पाउने छन्।
फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्यान्ड, भुटान, भारत, अस्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरोपेली देशहरूबाट पनि नेपाली भाषीहरूको सहभागिताको अपेक्षा राखेको छ।