बलिउड अभिनेता शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनीत फिल्म 'पठान' ले नेपालबाट राम्रो कमाइ गरेको छ।
वितरक मनोज राठीका अनुसार फिल्मले नेपालबाट ८ करोड रूपैयाँ कमाएको छ। ‘पठान’ अहिले नेपाली हलहरूबाट उत्रिसकेको छ।
जनावरी २५ देखि प्रदर्शन भएको फिल्मले भारतमा अझै पनि राम्रो व्यापार गरिरहेको छ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार यो फिल्मले भारतबाट ५३६ करोड ७७ भारू कमाएको छ भने यसको विश्वव्यापी कमाइ हजार करोड नाघेको छ।
सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको अतिथि भूमिका छ। यो फिल्ममार्फत शाहरूख खानले चार वर्षपछि कमब्याक गरेका हुन्।
शाहरूख भारतीय सैनिकको भूमिकामा देखिएका छन् भने दीपिका पाकिस्तानी गुप्तचर संस्था आइएसआईको एजेन्ट र जोन खलनायकको भूमिकामा छन्। निर्देशक आनन्दको कथा रहेको फिल्मको पटकथा श्रीधर राघवन र संवाद अब्बास टायरवालाले तयार पारेका हुन्।