अभिनेता अनमोल केसीले आफ्नो फिल्म '२.० छड्के' बक्स अफिसमा फ्लप भएपछि आफू नवौं फिल्ममा चुकेको बताएका छन्।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन्।
'मैले २.० छड्केमार्फत मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आइपुगेँ उहाँहरूलाई निराश बनाउँदा म झनै दुखी भएको छु। यो मेरो नवौं फिल्म थियो। नवौं फिल्ममा आइपुग्दा म झनै परिपक्व हुनुपर्थ्याे। यहाँ आएर म चुक्न पुगेँ,' उनले लेखेका छन्।
उनले आफू अन्य फिल्ममा राम्रो काम गर्ने बताउँदै लेखेका छन्, 'विश्वस्त हुनुस्, यो समय पनि बितेर जान्छ। घाम डुबेपछि फेरि भोलि नयाँ बिहानी हुन्छ। म भोलिको सुनौलो बिहानी मेरा दर्शकसँग साट्नेछु। दुखेको घाउहरूमा मल्हम लगाउने छु।'
याे फिल्म रिलिजकाे ६ दिनमै मल्टिप्लेक्स हलबाट उत्रिएको थियाे। करिब ३ कराेड लगानीमा बनेकाे फिल्मले ३० लाख रूपैयाँ कमाएकाे छ।
अनमोल केसी युवापुस्तामाझ रूचाइएका अभिनेता हुन्। उनका अधिकांश फिल्म बक्स अफिसमा हिट भएका छन्। अनमोलकै कारण यो फिल्म चल्ने फिल्मकर्मीको आशा थियो।
यसअघि दक्षिण भारतीय फिल्म 'केजिएफ २' सँग आउँदा पनि अनमोलको फिल्म 'ए मेरो हजुर ४' राम्रो व्यापार गरेको थियो। फिल्मले दुई दिनमा डेढ करोड बढी कमाइ गरेको थियो।
उनी आगामी फिल्म ‘जेरी २’ मा देखिनेछन्।