किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको गर्ल्स गेट इक्वल अभियानसँग मिलेर शुक्रबार एक दिने महिला केन्द्रित फिल्म फेस्टिभलको आयोजना गरेको छ।
'वुमन मेक फिल्म फेस्ट' शीर्षकमा अस्कर इन्टरनेसनल कलेजमा सम्पन्न फेस्टिभलमा महिला निर्देशकले निर्माण तथा निर्देशन गरेका फिल्म देखाइएको थियो।
बिहान ११ बजेदेखि २ बजेसम्म चलेको फेस्टिभलमा छोटा तथा वृतचित्र विधामा निर्माण भएका १५ वटा फिल्म देखाइएको थियो।
किपालय प्रोडक्सनले फिल्म निर्माण तथा निर्देशनमा महिलाको सहभागितालाई बढावा दिने उद्देश्यले प्लान इन्टरनेसनलसँग मिलेर दुई चरणमा फिल्म निर्माण कार्यशाला सम्पन्न गरिसकेको छ। किपालयले सन् २०२१ मा काठमाडौंमा र सन् २०२२ मा बाँके बर्दियामा कार्यशाला चलाएको थियो।
किपालयले बाँकेमा दिएको मोबाइल फिल्म मेकिङको कार्यशालाबाट तयार भएका फिल्मलाई पनि फेस्टिभलमा प्रदर्शन गरेको थियो।
फेस्टिभलमा फिल्म 'दि जर्नी अफ इनोसेन्स, वन रुपी, मेरो बुवा, खुल्ला आकाश, भेइल्ड, हजुर, मदरर्स स्कुल, साउन्ड अफ ब्यांगल, आन्टीको गाउँ, ह्युमन ट्राफिकिङ, मेन्टल हेल्थ, चाइल्ड म्यारिज, एम आइ गुड इनफ, एउटा कथा र डियर डायरी' देखाइएको थियो।
'यो वर्ष हामीले सानो स्केलमा ट्रायलको रूपमा नेपाली फिल्ममेकरका मात्र फिल्म देखाएर सुरूवात गरेका हौं। आगामी वर्ष विदेशी फिल्म र फिल्ममेकरलाई पनि सहभागी गराएर दुई तीन दिनको भव्य फेस्टिभल गर्ने योजना छ,' किपालयकी प्रमुख आश्मा पोखरेलले भनिन्।
फेस्टिभलमा फिल्म कलेजका विद्यार्थीसँगै २ सयभन्दा बढी दर्शकको सहभागिता रहेको थियो। फेस्टिभल सम्पन्न गर्न चलचित्र विकास बोर्ड, ब्रिटिश काउन्सिल, चिल्ड्रेनल फिल्म सोसाइट, डक स्कुल, गौँथली इन्टरटेनमेन्ट र सिर्जना सूत्रको सहयोग रहेको थियो।