नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को छैटौं संस्करण चैत २ गतेदेखि सुरू हुँदैछ।
बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै निफको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गर्ने जानकारी दिइएको छ। यसको समापन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले गर्नेछन्।
निफको ओपनिङ फिल्मको रूपमा केरिन शर्मा निर्देशित ‘चरी’ प्रदर्शन हुनेछ।
चैत २ गतेदेखि ६ गतेसम्म हुने महोत्सवमा नेपालसहित ३५ देशका ९५ वटा फिल्म प्रदर्शन गरिनेछ। ती फिल्म संसारका ५५ देशबाट प्राप्त ५ सय बढी फिल्मबाट छानिएको हो।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुको ७ विधामा १४ पुरस्कार वितरण गरिनेछ।
अन्तर्राष्ट्रिय प्रतिष्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतम बुद्ध अवार्ड, प्रदान गरिनेछ भने इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिजका जुरीको तर्फबाट डन क्विजोट अवार्ड पनि प्रदान गरिनेछ।
सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेष्ट अर्वाड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट सर्ट फिल्मलाई ५ सय डलरको बाग्मती अवार्ड प्रदान गरिनेछ।
नेपाली प्रतिष्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख, उत्कृष्ट सर्ट फिल्मलाई नगद ५० हजार र सर्टमध्येबाट उत्कृष्ट फिल्म निर्देशकलाई ट्रफी प्रदान गरिनेछ।
फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायाकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ।
यस पटकबाट निफका प्रतिस्पर्धी फिल्म सिनेमा हलमा प्रदर्शन गरिनेछ। देशको ठूलो मल्टिप्लेक्स च्यानल क्युएफएक्स सिनेमाको छाया सेन्टर सिभिल मल, लविम मल र भक्तपुर हलमा प्रदर्शन हुनेछ।
निफमा विविध कार्यशाला, अन्तर्क्रिरया र छलफल कार्यक्रमसमेत सञ्चालन हुनेछन्।