'थोलो ना थो गुङ ङोमो नै थो
सु यो णिलदा कारसुम रे सु
करयो गयूकार जोमबो यी कर...'
उनीहरूले गाएको यो गीत झट्ट सुन्दा नबुझिन सक्छ। किनभने, यो तिब्बती भाषामा छ। तर नबुझेकै कारण नसुनिने र संरक्षण नगर्ने हो भने यो र यस्ता गीत हराएर जान धेरै समय बाँकी छैन।
यो डोल्पाको पुङ्मो गाउँको लोपोन्मुख पुरानो गीत हो। यसलाई डोल्पाको भाषामा 'खुङ लु' भनिन्छ। 'खुङ' भनेको प्राचीन र 'लु' भनेको गीत हो। यस्तै गीत सुनाउन डोल्पाबाट चार जना स्थानीय यतिबेला काठमाडौं आएका छन्। तीमध्ये तीन जना महिला छन् – सोनाम लामु बैजी, युङङुङ साङमु लामा र पासाङ निमा बैजी र एक पुरूष छन् – पेम्बा टसी लामा।
उनीहरूले शनिबार आयोजित सांगीतिक महोत्सव 'इकोज इन द भ्याली' मा काठमाडौंलाई आफ्नो भेगका भाकाहरू सुनाए। आइतबार साँझ झम्सिखेलस्थित मोक्ष बारमा उनीहरूको अर्को प्रस्तुति छ।
डोल्पाको दुर्गम गाउँमा बस्ने यी चार जना दुई दिन हिँडेर जुफाल विमानस्थल आइपुगेका थिए। त्यहाँबाट जहाजमा काठमाडौं आउने योजना थियो। तर समयमा जहाज नपाएपछि तीन दिन गाडी चढेर उनीहरू काठमाडौं आइपुगे।
गाउँदेखि काठमाडौंसम्मको पाँचदिने यात्रामा झेल्नुपरेको सास्ती सम्झँदै पेम्बा भन्छन्, 'अलि झ्याउ भयो नि। एक त टाढाको बाटो, त्यसमाथि दुई दिन हिँडेर आउँदा पनि प्लेन पाइएन। गाडीमा आएको, त्यो पनि बाटोमा बिग्रिएर दुःख भयो।'
उनीहरूले काठमाडौं आउन यस्तो सास्ती झेलेको पहिलोपटक होइन। हरेकपटक यस्तै समस्या झेल्दै आउँछन्।
यसअघि उनीहरू विशेषगरी दुई कारणले काठमाडौं आउँथे– एउटा बिरामी पर्दा र अर्को सहर घुम्न। आफ्नो गाउँको संगीत बोकेर आएको भने पहिलोपटक हो।
उनीहरूलाई आशा छ, 'काठमाडौंले डोल्पाको गीत सुन्नेछ।'
डोल्पाको पुङ्मोलाई संगीतमार्फत् काठमाडौंसँग जोड्ने काम चिलीका दुई संगीतकार तोमस करास्को गुबनैंटिस र मोआ निकोलस एडमन्ड्स ग्वेरा, अमेरिकाका डबल बास प्लेयर मिगुएल सवाया, नेपालका फोटो–भिडिओग्राफर एरिक चन्द्र श्रेष्ठ, संगीत अध्येता दीक्षित अधिकारी र डोल्पाका सेम्दुक लामाले गरेका हुन्। यो काम करिब डेढ वर्षअघि सुरू भए पनि ४० वर्ष पुरानो एउटा घटना यसमा जोडिन्छ।
एरिक चन्द्रकी आमा फ्रान्सेली हुन् र बुवा नेपाली। सन् १९८१ तिर उनकी आमा मरिना डोल्पा पुगेकी थिइन्। सन् १९८९ सम्म डोल्पा विदेशीलाई निषेध गरिएको थियो। त्यही भएर उनी रैथाने हुलियामा लुकेर त्यहाँ गएकी थिइन्। त्यही बेला उनको भेट डोल्पाका सेम्दुक लामासँग भयो।
'त्यति बेला डोल्पाका गेकोत रिन्छेन ग्याल्छेन भन्ने एक जना लामा (गुरू) रहेछन् जसले सिंगो डोल्पाको नेतृत्व गरेका थिए। मेरी आमा मरिनाले उनको फोटो खिचेकी थिइन्। लामा बितेपछि सबैले त्यो फोटो हेर्ने र आफूसँग राख्ने रहर गरे। त्यही फोटोका कारण मेरी आमासँग सेम्दुक लामाको भेट भयाे। आमाकै कारण मैले पनि वहाँलाई चिनेँ,' एरिकले भने।
भेटक्रममा सेम्दुकले एरिकलाई डोल्पाका पुराना गीतहरू हराउन लागेको सुनाए। फोटो–भिडिओग्राफर भए पनि संगीतसँग निकै नजिक एरिकले त्यसमा चासो देखाए।
'नेपालमा कति महत्वपूर्ण कुराहरू लोप हुँदै गएका छन्। त्यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने मलाई लाग्छ। पुङ्मोका गीतहरूबारे सुनेपछि मलाई त्यहाँ गएर संगीत जोगाउनुपर्छ भन्ने हुटहुटी झनै बढेको थियो,' एरिकले भने।
सेम्दुकका अनुसार यो गाउँको वास्तविक नाम पुङ्मो नभएर पुङमोर थियो। डोल्पाको भाषामा परेवालाई 'पुङ' भनिन्छ। 'मोर' भनेको धेरै हो। परेवा टन्न हुने गाउँ भएकाले पुङमोर नाउँ रहेको भनाइ छ। त्यो नाम अपभ्रंस भएर अहिले पुङ्मो मात्र भनिन्छ।
सेम्दुकको आफ्नै नामधरि खासमा सामढुप थियो। 'साम' भनेको बुवाआमाको इच्छा हो र 'ढुप' भनेको पूरा हुनु हो। स्कुल पढ्ने क्रममा उनको नाम बिगारियो। डोल्पा र हिमाली भू–भागमा बस्ने प्रायःको नामको अर्थ हुन्छ। तर स्कुल वा सरकारी कामकाज क्रममा उच्चारणको समस्याले नाम बिगारिन्छ। नाम मात्र होइन, उनीहरूको थरसमेत उच्चारण गर्न अप्ठ्यारो भएकाले परिवर्तन गरेर राखिने सेम्दुक बताउँछन्।
पछिल्लोपटक उनलाई यहाँको संस्कृति र गीतहरू हराउलान् भन्ने चिन्ता लागेको छ।
'पहिला यी गीत डोल्पाको विभिन्न गाउँमा गाइन्थ्यो होला। अहिले पुङ्मोमा मात्र गाइन्छ। त्यही भएर यो ठाउँबाट पनि यी गीत हराएर जालान् भन्ने मलाई डर छ,' सेम्दुकले भने, 'यी गीत हराउनु भनेको डोल्पाको महत्वपूर्ण सम्पदा हराउनु हो। त्यसलाई जगेर्ना गर्नुपर्छ भनेर नै मैले उहाँहरूलाई डोल्पा आउन आग्रह गरेको थिएँ।'
डोल्पाको पुङ्मो जाने सोच भए पनि काठमाडौंमा एरिक र उनका विदेशी साथीहरूलाई त्यहाँसम्म कसरी पुग्ने भन्ने अलमल थियो। 'इकोज इन द भ्याली' ले नै उनीहरूलाई त्यहाँसम्म जान खर्च व्यवस्था गरिदियो। अनि डेढ वर्षअघि संगीतको खोजीमा उनीहरू डोल्पाको पुङ्मो गाउँ पुगे।
'डोल्पाको पुङ्मो पुग्न दुई दिन हिँड्नुपर्थ्यो। त्यो मेरो लागि पहिलो पैदल यात्रा थियो,' चिलीका संगीतकार तोमसले भने, 'हाम्रो लागि फरक समुदाय थियो। तर उनीहरूले हामीलाई अपनाए। सुरूमा त उनीहरूलाई को मान्छे हुन्, किन आएका हुन्, के चाहन्छन् भन्ने भएको थियो। बिस्तारै घुलमिल भएपछि उनीहरूले हामीलाई विश्वास गरे र गीत रेकर्ड गर्न दिए। उनीहरूले ठाने पनि होलान्, हामीले गर्न लागेको काम उनीहरूको संगीत जोगाउन निकै आवश्यक छ।'
उनले अगाडि भने, 'उनीहरू दिनभर खेतमा काम गर्थे। साँझ ६ बजेतिर आफ्नो घर फर्कन्थे र सामान्य तरिकाले जीविकोपार्जन गर्थे। उनीहरूको रहनसहन देख्दा मलाई विगतको कुनै कालखण्डमा पुगेजस्तो महसुस भयो। त्यो मेरा लागि सुन्दर अनुभव थियो।'
डोल्पाको लोपोन्मुख गीत गाउने यी चार स्थानीयलाई सेम्दुकले नै भेटाइदिएका थिए। उनीहरू आफ्नो खेतको काम सकेर रातको समय एउटा वा दुइटा गीत सुनाउँथे। त्यसलाई तोमस र उनका साथीहरूले रेकर्ड गर्दै, ट्रान्सक्राइब गर्दै सिक्न थाले। भाषामा सहजीकरण गरिदिने काम एरिकले गरे।
डोल्पाकी पासाङ निमा बैजी सुरूमा विदेशीहरूसँग काम गर्न अप्ठ्यारो भएको र बिस्तारै बानी पर्दै गएको बताउँछिन्।
'हामीले हाम्रो गीत त गाउन जान्छौं तर उनीहरूले जान्दैनन्। उनीहरूलाई सिकाउँदा अलि गाह्रो भयो, आजभोलि त राम्रो छ,' उनले भनिन्।
डोल्पामा गीत गाउने मुख्य समय ल्होसार हो। ल्होसार उनीहरूका लागि नयाँ वर्ष हो। वर्षको एकपटक मात्र गाउने भएकाले डोल्पाका धेरैले यो गीत राम्ररी गाउन जान्दैनन्। जसले जान्छन्, उनीहरूको समुदाय सीमित छ। त्यही भएर गीत हराउने सम्भावना छ।
गीत हराउने सम्भावना हुनुको अर्को कारण के हो भने यहाँका नयाँ पुस्ताले यी गीतमा चासो देखाएका छैनन्।
तपाईंहरूले आफ्ना छोराछोरीलाई किन नसिकाउनुभएको त?
हाम्रो प्रश्नमा डोल्पाका पेम्बा टसी लामाले भने, 'हाम्रा केटाकेटी त पप गाउने रे, र्याप गाउने रे, अंग्रेजी गाउने रे, हिन्दी गाउने रे; हाम्रो गीत त नगाउने रे! उनीहरूलाई सिकाउँछु भन्दा पनि सिक्न मान्दैनन्। हामी बूढाबूढीलाई मात्र यो गीत थाहा छ। उनीहरूले सिक्नै नखोजेपछि गीत हराउन पनि सक्छ। विदेशीहरूले भने कहाँ–कहाँदेखि आएर हाम्रो गीत सिकेर गइरहेका छन्। हाम्रै केटाकेटीले वास्ता नगर्दा नराम्रो लाग्छ।'
पुङ्मोवासीहरू ल्होसारबाहेक रमाइलो जमघट हुँदा र मौसमअनुसार पनि गीत गाउँछन्। ती स्वागत गीत (तेम्डेल ङावा), मौसमी गीत (सोइ ङावा), जमघट गीत (सोनाम डोल्मा), ट्राम ङेन भन्ने रैथाने बाजाको गीत (पाल्की लामो) लगायत छन्।
उनीहरूले धेरैजसो गाउने गीत स्वागत गीत हो-
'थोलो ना थो गुङ ङोमो नै थो
सु यो णिलदा कारसुम रे सु
करयो गयूकार जोमबो यी कर...'
यो गीतले भन्छ, 'चन्द्र, सूर्य, गुरू, लामा, गाउँका नेता, बुवाआमा, युवायुवती सबैलाई स्वागत छ।'
यहाँका रैथाने गीतमा महत्वपूर्ण कथाहरू पनि छन्। जस्तो, एउटा गीतमा ट्राम ङेन भन्ने रैथाने बाजाको गीत (पाल्की लामो) छ-
'ट्राम ङेन पिवाङ वाङमो ला मिकोइ गुकोइ कोइकिन पाल्की लामो सो
फोसिङ ताम्पा गोइकिन ताप्पे ताबो कोइकिन
म सिङ लाङमा गोइकिन लाङमृ ग्यूर सिङ गोइकिन...'
ट्राम ङेन भन्ने बाजा बनाउन कस्तो काठ र कस्तो डोरी चाहिन्छ र यो बाजा कसरी बन्छ भन्ने विवरण यो गीतमा छ। यो एक मात्र बाजा हो, जुन पुङ्मो गाउँका स्थानीयले गाउने गीतमा प्रयोग हुन्छ।
उनीहरूको जमघट र रमझममा गाइने एउटा गीतमा रक्सी पार्ने तरिका, त्यसलाई बनाउँदा के–के सामग्री आवश्यक हुन्छ र खाँदा के–के फाइदा हुन्छ भन्ने कथा समेटिएको छ-
'सोनाम डोल्मा ला गोरेम थेमा याँजोत ङोमो डु चाइयोत
ङोमो डु ही बाण्छोत योलाङ छुले चायो...'
कथा र परम्परा समेटिएकाले यहाँका गीत हराउनु भनेको ती कथा र परम्परा पनि हराउनु हो।
चिलीका संगीतकार तोमस र उनका साथीहरूले सामुदायमा सीमित डोल्पाका यी गीतलाई स्टेजसम्म ल्याउँदा धेरै फेरबदल गरेका छैनन्। त्यसको मौलिकता जोगाउँदै, उनीहरूलाई जस्तो सजिलो हुन्छ, त्यस्तै छाडिदिएका छन्।
'उनीहरूले कहिले पनि स्टेजमा आफ्नो समुदायको गीत प्रस्तुत गरेका थिएनन्। त्यही भएर हामीले नयाँ केही थपेका छैनौं, ताकि उनीहरूले सहज रूपमा गाउन सकून्,' तोमसले भने, 'हामीले त्यसमा आफ्नो वाद्यवादन मिसाएर थोरै रंग मात्र भरेका छौं। उनीहरूको संगीतलाई यसरी स्टेजसम्म ल्याउनु नै हाम्रो लागि ठूलो उपलब्धि हो।'
चिलीका तोमस र मोआ सन् २०२० मा 'इकोज इन द भ्याली' कै कार्यक्रमका लागि नेपाल आएका थिए। कोरोना लकडाउनका कारण नेपालमै रोकिएपछि उनीहरूले यही संगीतमा सहकार्य गर्दै आएका छन्। रैथाने संगीत समूहकी गायिका झुमा लिम्बू र यहाँका थुप्रै नेपाली संगीतकारसँग उनीहरूले सहकार्य गरिसकेका छन्। नेपालमा भएका विभिन्न समुदायको गीतमा संगीत भरेका छन्।
नेपाली संगीतमा तीन वर्षयता काम गरेको अनुभवका आधारमा तोमस भन्छन्, 'नेपाली संगीत विविधताले भरिएको छ। यो निकै सम्पन्न छ तर त्यसमा धेरै अनुसन्धान र संरक्षणको काम बाँकी छ। यसलाई जोगाएर मात्र राख्नुभयो भने यो मरेर जान्छ। संगीतको जरासम्म पुग्नुभयो र त्यसमा ज्यान भर्दै धेरैमाझ पुर्याउन सक्नुभयो भने यहाँ धेरै सिर्जनशील सम्भावना छ।'
पुङ्मोको गीत संरक्षण गर्न त झनै बढी प्रयास गर्नुपर्ने उनी बताउँछन्।
'उनीहरूसँग जे छ त्यो एकदम महत्वपूर्ण छ। तर त्यसको महत्व नबुझ्दा गाउने मान्छे कम छन्। सायद हाम्रोजस्तो कामले अलिकति भए पनि उनीहरूको संगीत जगेर्ना गर्न सहयोग पुग्छ। केहीले त्यहाँका गीत सिक्ने प्रयास पनि गर्छन् भन्ने आशा छ,' उनले भने।