दिपेन्द्र के खनालको निर्देशनमा बन्ने फिल्म ‘पशुपति प्रसाद २ः भष्मे डन’ को छायांकन सुरू भएको छ।
गत शुक्रबार शुभमुहूर्त गरिएको फिल्मको आज पशुपतिनाथ मन्दिर परिसरबाट छायांकन सुरू गरिएको हो। अभिनेता विपिन कार्कीको पहिलो सट खिचिएको छ। सेटबाट बाहिरिएको तस्बिरमा विपिनलाई भष्मे डनको लुक्समा देख्न सकिन्छ।
फिल्ममा विपिनसँगै स्वस्तिमा खड्का, सौगात मल्ल, प्रकाश घिमिरे, वर्षा शिवाकोटी, रवीन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा मगरलगायत कलाकारको अभिनय रहनेछ। फिल्मको कथा खगेन्द्र लामिछानेले तयार पारेका हुन्।
टुकी आर्टस् ब्यानरमा निर्माण हुने फिल्ममा निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज तथा सुभाष भुषालको संगीत रहनेछ। यो फिल्म आगामी दशैंको फूलपातीदेखि प्रदर्शन हुनेछ।
२०७३ सालमा रिलिज भएको फिल्म ‘पशुपति प्रसाद’ को स्पिन-अफको शीर्ष भूमिकामा विपिन कार्की छन्। ‘पशुपति प्रसाद’ मा उनले भष्मे डनकै भूमिका निर्वाह गरेका थिए।
फिल्ममा ७ वर्षभित्र भष्मे डनको जीवनमा आएका उतारचढावलाई फिल्ममा देखाइने छ।