दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म 'नांगो गाउँ' को छायांकन सुरू भएको छ।
काभ्रेको बेथानचोक गाउँपालिकाबाट फिल्मको छायांकन सुरू गरिएको हो।
चैत १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्नेछ। फिल्मको छायांकनमा मुख्य कलाकारहरू दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन्।
निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा दयाहाङ र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ। यस्तै अभिनेता कार्म साम्राज्ञीसँग रोमान्टिक देखिएका छन्।
दयाहाङ, साम्राज्ञी, कार्म, शिशिरसँगै फिल्ममा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहनेछ। फिल्मलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्।
मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माको लगानी छ।
यसवर्ष लामा निर्देशित फिल्म ‘२ नम्बरी’ प्रदर्शन भएको थियो। यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो। उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन्।
केही समयअघि कार्मले आफ्नो नाम कर्मा नभएको बताएका थिए। उनले एक प्रेसमिटमा आफूलाई कार्म भनेर बोलाउन आग्रह गरेका थिए।