अभिनेत्री शुभेच्छा खड्का अभिनीत दोस्रो फिल्म 'प्रेमा' आगामी चैत १७ गतेदेखि प्रदर्शन हुँदैछ।
निर्देशक गोविन्दसिंह भण्डारीको फिल्म 'रणवीर' बाट अभिनयमा डेब्यू गरेकी शुभेच्छाले गोविन्द निर्देशित फिल्म 'प्रेमा' मा शीर्ष भूमिकामा देखिँदैछिन्।
शुभेच्छाको बुझाइमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन्। ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ। फिल्म हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन्। प्रेमा मिठो खालको कथा हो। फिल्म कलरफूल र साधारण बनेको छ,’ उनले भनिन्।
शुभेच्छा सहरीया संस्कृतिमा हुर्किएकी हुन्। बोलिरहन मनपराउने उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन्। तर प्रेमा चरित्र उनीभन्दा फरक छ।
‘प्रेमा अलिक लजालु छिन्। यो फिल्ममा मलाई काम गर्न केही समय लाग्यो। किनकी पहिला त प्रेमाजस्ती देखिनका लागि लुक्समै फिट गराउन समय लाग्यो। एक दुई दिन त म राम्री देखिएँ या देखिइन् भन्नेमा अन्योल थियो,’ उनले भनिन्।
निर्देशक गोविन्द वास्तविक जीवनकी एक महिलाबाट प्रभावित भएर फिल्मको कथा तयार पारेको बताउँछन्।
‘वास्तविक प्रेमाको चरित्रलाई लिएर फिल्म बनाउन मन थियो। त्यो चरित्रलाई यसमा पुरा गरेको छु। यो फिल्ममा दर्शकले नयाँ शैलीको प्रेमकथा पाउनुहुनेछ’ उनले भने, ‘प्रेमा साउथ फिल्ममा धेरै प्रयोग हुने शब्द हो। हामी नेपालमा माया भनेजस्तै साउथमा प्रेमा बढी प्रयोग हुन्छ। प्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ।’
फिल्ममा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेच्छा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन्।
‘फिल्म राम्रो बन्न निर्देशक, स्क्रिप्ट र कलाकार राम्रो हुनुपर्छ। प्रेमामा दर्शकले सबै कुरा पाउँछन्। फिल्मले राम्रो गर्छ भन्नेमा म पूर्ण रूपमा विश्वस्त छु,’ अरुणले भने।
यो फिल्म तामिल, तेलुगु र हिन्दी संस्करणमा ओटिटी प्लेटफर्ममा रिलिज हुँदैछ।