चलचित्र प्राविधिक संघ (नेफ्टा) ले आगामी वैशाख १ गतेदेखि लागु हुने गरी छायांकनमा सिफ्ट सिस्टम कार्यान्वयनमा ल्याउने भएको छ।
संघका अध्यक्ष पुष्कर लामाका अनुसार उक्त मितिदेखि १२ घण्टाको सिफ्ट सिस्टम तोक्दै प्राविधिकलाई काम गर्न अनुमति दिने निर्णय गरेको हो।
अध्यक्ष लामाले अन्तर्राष्ट्रिय फिल्म उद्योगमा कार्यरत श्रमिकको अभ्यासलाई हेरेर नेपालमा पनि यस्तो व्यवस्था लागु गर्न लागिएको बताए। अब नेपाली प्राविधिकले बिहान ७ देखि बेलुका ७ बजेसम्म र बिहान ९ बजेदेखि राती ९ बजेसम्मको १२ घण्टे तालिकाअनुसार काम गर्नु पर्नेछ।
अतिरिक्त समय काम गर्नु निर्माताले प्राविधिकलाई थप पारिश्रमिक दिनुपर्नेछ। नेफ्टाको हालै बसेको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो।
‘२०७६ सालदेखि नै यो अभ्यास सुरू गर्ने तयारी थियो तर कोरोना महामारीले रोकियो। फिल्मको अहिलेको अवस्था र व्यवसायलाई हेरेर यो नियम ल्याएका हौं। जिम्मेवार श्रमिक संस्थाले भएकाले निर्मातालाई जोगाउनुपर्छ भन्ने उद्देश्य छ,’ अध्यक्ष लामाले भने।
सिफ्ट प्रणाली कार्यान्वयन गर्नको लागि निर्माता संघ र चलचित्र संघजस्ता सम्बद्ध निकायसँग नेफ्टाले सहकार्य गर्नेछ।
त्यस्तै नेपालमा छायांकन गर्न आउने विदेशी फिल्मले अनिवार्य ६५ प्रतिशत नेपाली प्राविधिक राख्नुपर्ने र नेपालमा छायांकन गर्दा नेफ्टासँग अनुमति लिनुपर्ने देखि सहकार्य गर्नुपर्ने नियम पनि ल्याउने तयारी छ।
‘छिमेकी मुलुकमा फिल्म छायांकनलाई जाँदा त्यहाँका एसोसिएसनसँग सहकार्य गर्नुपर्ने नियम छ। सोही नियमलाई हामीले नेपालमा समेत थालनी गर्न लागेका हौं,’ उनले भने।
वैशाख १ गतेदेखि नै नेफ्टाको सदस्यता नलिने प्राविधिकले काम गर्न नपाउनेदेखि संस्थाबाट सुविधा पनि नपाउने भएका छन्।